छठ पर्वले दुलहीझै सिंगारिएका घाटहरु (फोटो फिचर)


१६ कार्तिक २०७६, शनिबार
chat parba

जनकपुरधाम, १६ कार्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री र्पुयाउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ ।

वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

यसैबीच जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।

हेर्नुस् तस्विरहरु

chhad 8
chhad 7
chhad 6
chhad 5
chhad 4
chhad 3
chhad 2
chhad 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७