स्वास्थ्यकर्मीको अभावमा राप्तीपारी


१७ कार्तिक २०७६, आईतवार
baghauda

बाँके, १७ कार्तिक । बाँके सुगम जिल्लाका रुपमा चिनिन्छ तर, धेरैलाई थाहा छैन सुगम जिल्लाभित्रको पीडा । यस जिल्लाका कतिपय दुर्गम र पिछडिएको क्षेत्र अहिले पनि अभावसँग जुझिरहेका छन् । सबै हिसाबले सुगम मानिने बाँकेभित्रकै राप्तीपारी बघौडाको कथा र वेदना भने निकै फरक छ ।

वर्षातमा बाढीको पीडा, हिउँदमा शीतलहरले सास्ती भोग्छ, राप्तीपारिका बासिन्दा । बल्लतल्ल हुलाकी सडकले जोड्यो, सदरमुकामसँगको दूरी केही नजीक भयो तर, शिक्षा र स्वास्थ्यको अवस्था जस्ताको तस्तै छ । दुई वर्षअघिसम्म भारतीय बजारमै कारोबार गर्ने राप्तीपारि बघौडा क्षेत्रका नागरिकहरु बल्लतल्ल नेपाली बजारसँग जोडिएका छन् ।

केही वर्ष अघिसम्म नेपाली रुपैयाँ नचल्ने राप्तीपारिका गाउँहरुमा अहिले नेपालीमै कारोबार हुन्छ । बघौडावासीले यसलाई सङ्घीयताको उपलब्धि मानेका छन् । सङ्घीयतापछि गाउँमा बैंक पुगेसँगै नेपाली रुपैयाँमै कारोबार हुन थालेको हो । ‘चुनाव भयो, गाउँलेले प्रधान चुने, विकास आउँदैछ’” नरैनापुर–३, बाबुगाउँका स्थानीयवासी रामकिसुन यादवले भने ।

चुनावपछि नै गाउँमा नेपाली रुपैयाँमा कारोबार हुन थालेको हो । हरेक दृष्टिकोणले पछाडि परेको बगौडा क्षेत्रको विकासका लागि सङ्घीयता आउनुअघि बजेट नगएको पनि हैन तर, बजेटमा टाठाबाठाकै मात्र हालीमुहाली हुने गथ्र्यो ।

जनताको सेवा गर्न खटिएका राष्ट्रसेवकले समेत विकासका नाममा ठग्न थालेपछि बघौडावासी झन् समस्यामा परे । विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको लक्ष्मणपुर स्वास्थ्य चौकी ७ वर्षसम्म अलपत्र रह्यो । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरुको सक्रियताका कारण आठ वर्षपछि भवन निर्माण सम्पन्न भयो ।

नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारी अभावका कारण अहिले पनि नरैनापुरवासी प्रभावकारी स्वास्थ्य उपचारबाट वञ्चित छन् । गाउँपालिकाभित्रकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेको यो केन्द्रलाई १५ शैंयाको अस्पताल बनाउने योजना स्वीकृत भएर नामकरण समेत भइसकेको छ तर यहाँ सामान्य स्वास्थ्य चौकीले दिने जस्ता सेवा मात्रै उपलब्ध छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र हँुदा १३ जनाको दरबन्दी भएकामा हाल ८ जना स्वास्थ्यकर्मी मात्र यहाँ छन् । एमबिबिएस डाक्टरको समेत दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा यहाँका स्थानीय बासिन्दाले डाक्टरको अनुहार हेर्न पाउँदैनन् । ‘स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको २५ वर्षसम्म पनि यहाँ डाक्टर बसेको देखेका छैनौं’, स्थानीय बासिन्दा भन्छन् । कुनै पनि एमबिबिएस डाक्टर दुई महिनाभन्दा बढी बसेको उदाहरण नै छैन ।

स्वास्थ्य केन्द्रमा एक एमबिबिएस डाक्टर, एक एचए, सिअहेब, एक स्टाफ नर्स, तीन अहेब, तीन अनमी, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल एक सिअहेब, एक स्टाफ नर्स, दुई अहेब, तीन अनमी र एक कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज मो. तयव रायनले जानकारी दिए ।

स्वास्थ्य केन्द्रका इन्चार्ज एचए मोइन खाँले लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । एमबिबिएस डाक्टरको व्यवस्था भएको स्वास्थ्य केन्द्र तल्लो तहका कर्मचारीको भरमा चल्दै आएको छ । स्वास्थ्य केन्द्रमा अन्य स्वास्थ्यकर्मी पनि कमै बस्ने गरेको नागरिकहरुको गुनासो छ ।

उपचारका लागि केन्द्रमा जाँदा डाक्टर नभएर फर्किनुपर्ने बाध्यता रहेको लक्ष्मणपुरका स्थानीय बासिन्दाको गुनासो छ । ‘अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी नै हुँदैनन्, कर्मचारी भइहाले पनि औषधि नपाएर फर्किनुपर्छ, हामी उपचार गर्न जाने अरु ठाउँ छैन’, लक्ष्मणपुरका स्थानीय कमदिन खाँले भने ।

कोही बिरामी भइहाले पनि उपचार गर्नकै लागि केन्द्रमा स्वास्थ्यकर्मी भेट्टाउन मुश्किल हुने गरेको खाँले बताए । ‘नेपालगञ्ज लैजान यातायातको सुविधा छैन, गाउँंमै छट्पटाउनु पर्ने अवस्था छ’, खाँले गुनासो पोख्दै भने । गाउंँमा बस्ने व्यवस्था राम्रो नभएको बहानामा स्वास्थ्यकर्मीहरु अन्यत्र गइदिँदा नरैनापुरवासी स्वास्थ्य उपचारबाट वञ्चित छन् ।

लामो समयदेखि समायोजन प्रक्रियामा रहेको स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजन टुङ्गिसकेको छैन । बाँकेका स्थानीय तहमा पनि स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको कामले पूर्णता पाउन सकेको छैन । जिल्लाका केही स्थानीय तहले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीको पदस्थापना गरी काममा खटाइसकेका छन् भने केही तहमा समायोजन टाउको दुखाइको विषय बनेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी आउँदा पदस्थापन हुन नसकेर कर्मचारीले हाजिर समेत गर्न पाएका छैनन् । बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको नरैनापुर गाउँपालिकाको अवस्था भने अझ दयनीय छ ।

नरैनापुरमा आवश्यक कर्मचारी नै नहुँदा स्वास्थ्य संस्थाहरु कर्मचारीविहीन बनेका छन् । सबैले सुगम क्षेत्र खोज्ने भएकै कारण सुगममा आवश्यकताभन्दा बढी कर्मचारी छन् । दुर्गममा कर्मचारी जान नमानेका कारण अभावको स्थिति सिर्जना भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको भनाइ छ ।

नरैनापुरमा अहेव चौथो र अनमी चौथो तहको दरबन्दी अनुसार भने समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापना भई व्यवस्थापन भइसकेको छ । गाउँपालिका अन्तर्गत रहेका छ वटा स्वास्थ्य संस्थामध्ये गंगापुर स्वास्थ्य चौकीबाहेक अन्य पाँच वटा स्वास्थ्य संस्था अहिले पनि कर्मचारीविहीन जस्तै छन् ।

नरैनापुरमा सिअहेब–हेअ छैटौं र सिअहेब–हेअ पाँचौ तहका कर्मचारी नै आइनपुग्दा गंगापुर बाहेक सबै स्वास्थ्य संस्थाहरु तल्लोस्तरका केही कर्मचारीको भरमा चलिरहेका छन् । पालिकामा समायोजन भएर आउनुपर्ने सिअहेब–हेअ छैटौं र पाँचौं तहका कर्मचारी आइनपुगेको कारण स्वास्थ्य संस्थाहरुमा कर्मचारी पठाउन नसकिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले बताए ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा ३६ जनाको स्वीकृत दरबन्दी रहेकामा १२ जना कर्मचारी अपुग छन् । अपुग कर्मचारी सबै पाँचौ र तथा छैठौं तहका कर्मचारी रहेको र कतिपय कर्मचारी गाउँपालिकाको सम्पर्कमा भने आइसकेको स्वास्थ्य संयोजक खाँको भनाइ छ ।

ती स्वास्थ्य चौकीमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरु समायोजन भएर गइसकेका छन् भने बाहिरबाट आउनुपर्ने कर्मचारी आएका छैनन् । पालिका अन्तर्गतको कटकुँइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर र मटेहिया स्वास्थ्य संस्थामा दुई–दुई जना पाँचौ तहको दरबन्दी रहेकामा त्यहाँ पाँचांै तहका कर्मचारी छैनन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी खाली छ ।

मटेहियामा एक जना पाँचौ वा छैठौ तहको अनमीको दरबन्दी खाली रहेको स्वास्थ्य संयोजक खाँले बताए । गाउँपालिकाको वडा नं ४ का इरसाद अलि साइले भने, ‘आधारभूत स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने संविधानमै भनिएको छ तर, स्थानीय तहका स्वास्थ्य संस्था कर्मचारीविहीन छन् । कसरी पाउने आधारभूत स्वास्थ्य सेवा ?’

जिल्लाका अन्य स्थानीय तहमा आवश्यकताभन्दा बढी कर्मचारी छन् भने नरैनापुरमा अपुग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै आवश्यकता र दरबन्दीको अवस्था नहेरी कर्मचारीले माग गरेबमोजिम समायोजन गरिदिँदा स्वास्थ्य सेवा प्रवाहमै समस्या आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७