महराको थुनछेक बहस सकिएन, राखियो ‘हेर्दाहेर्दै’ मा


१७ कार्तिक २०७६, आईतवार
mahara photo

काठमाडौं, १७ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको आइतबारबाट शुरु भएको थुनछेक आज बहस सकिएन ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’ मा राखिएको छ ।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् भने महराकोतर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर सेसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायत बहस गर्दैछन् ।

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । समय अभाव भएपछि आइतबारबाट मात्रै थुनछेक बहस शुरु भएको थियो ।

अब थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

महराले भने बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि ती महिलासँग टेलिफोन सम्पर्क नभएपछि कोठामा नछिरेको उनले बयान दिएका छन् ।

ती महिला कर्मचारीको एक भिडियोमा महराले जबरजस्ती करणी प्रयास गरेको र नमानेपछि आफूमाथि कुटपिट गरेको बताएकी छन् । भिडियो सार्वजनिक भएलगत्तै सभामुख पदबाट राजीनामा दिएका महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । तर, स्वास्थ्यको कारण देखाउँदै उनी नर्भिक अस्पतालमा भर्ना भएर बसेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७