नेपाली गाउँमा सिरक बनाएर पैसा भारत पठाउँदै


प्रकाशित मिति : December 27, 2017

मोरङ : एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ–गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीं पैसा कमाइ रहेका छन् ।

OLYMPUS DIGITAL CAMERA

यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्याक्टरमा सँगै लिएर हिंड्न थालेका छन् । मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक १५ हजारभन्दा बढी कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिनायता घुम्ती रुपमा सिरक डसना बनाउँदै हिडिरहेका छन् । भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सात जना कामदार छन् । ट्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ गरेर (फिटेर) रुवा बनाउने मेशिन लिएर हिंडेको उनीहरूको टिमले दैनिक १५ हजारभन्दा बढी कमाइ गर्दै आएको छ ।

अझ रोचक कुरा त उनीहरूले भारतबाटै सिरक, डसना र सिरानीका पल्ला र खोल समेत लिएर आउने गरेका छन् । सियो, धागो नेपालमा उत्पादन हुँदैन, त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताए । सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पूराना कपडा मेशिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेको लर्को लागेको स्थानीय मीरा खड्काले बताइन् । जिउँदा मानिसको कपडा डढाउनु वा फाल्नु हुन्न भन्ने पूर्वीय मान्यताले गर्दा प्रत्येक घरमा बीसौँ वर्ष पूराना कपडा त्यतिकै थन्किएका थिए । गाउँमा डसना बनाउने मेशिन आएपछि प्रत्येक घरले पालो कुरेर डसना, सिरक बनाएको खड्काको भनाइ छ । दैनिक १५ हजार कपडा फिटेको र डसना सिलाए बापत प्राप्त रकम थोरै हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप पाँच हजार आम्दानी हुने फिरोजको भनाइ छ । ट्याक्टर भाडा र इन्धन खर्चमा चार हजार खर्च हुन्छ । कपडा फिटेको प्रतिकिलो २५ र सिलाएको १० केजीसम्मको सिरक डसनाको ५ सय ज्याला लिने गरेको उनले बताए ।

सिरक बनाउने भारतीय कामदार मोरङको सुन्दरहरँैचा–१, बेलबारी, उर्लाबारी, पथरी, बयरवन, इटहरालगायतका बजारमा स्थायीरुपमा बसेका छन् । उनीहरू मौसमअनुसार आफ्नो सीप प्रयोग गरेर नेपालबाट पैसा कमाएर लाने गर्छन् । मोबाइल रुपमा ट्याक्टर पछाडि रुवा फिट्ने मेशिन लिएर हिंड्नेको संख्या पनि १४ रहेको फिरोजको भनाइ छ । उनले भने–‘नेपालीहरू ‘थर्ड क्लास’ काम भनेर गर्दैनन् ।’ उनले आफ्नो बाजेले पनि धुनियाँ बोकेर ताप्लेजुङसम्म पुगेर सिरक छापेको बताए । ‘मात्र प्रविधि फेरिएको हो, काम उही हो, हाम्रो परम्परागत पेशा नै यही हो’–उनले भने ।

सिरक डसना छाप्ने मात्र होइन, मौसमअनुसारका घरायसी सामग्री साइकलमा बोकेर गाउँगाउँ घुम्ने भारतीयको संख्या दुई हजार ५ सय भन्दा बढी रहेको भारतको पूर्णियाबाट व्यापार गर्न आएका साकिर हुसैनको भनाइ छ । एउटा साइकलमा झण्डै ५० प्रकारका घरायसी भान्साका सामानदेखि लुगाफाटोसम्म बोकेर गाउँगाउँ हिँड्ने उनीहरू दैनिक ८ सयसम्म कमाइ हुने बताउँछन् । उनीहरु भन्छन्–‘इटहरीमा डेरा छ । बिहान सबेरै उठेर आफ्नो साइकल र सामान भण्डारण गरेको चोकमा पुग्छौँ र व्यापारका लागि हिँड्छौँ । एउटा टिममा दुईदेखि आठ जनासम्म हिँड्ने उनीहरूको खाना नास्ताको टुंगो हुँदैन । ‘जहाँ जतिबेला जे भेटियो, त्यही खान्छौं’–पश्चिम बंगाल घर भएका मानुष वर्माले भने ।

प्रतिक्रिया दिनुहोस्