प्रकाश राईलाई नेकपाले धरान मेयरकाे उम्मेद्वार बनाउने


१७ कार्तिक २०७६, आईतवार
prakash rai

काठमाडौँ, १७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धरान महानगरपालिका मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ), वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए ।

को हुन् प्रकाश राई ?
सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य रहेको राई नेकपाको पुराना र क्रियाशील नेता हुन् ।

२०३५ सालको चरम निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत कम्युनिस्ट पार्टीमा सङ्गठित भएका उनी निरन्तर क्रियाशील छन् ।

उनी २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य माले र मार्क्सवादी बिच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए ।

यसै गरी २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए ।

उनी कम्युनिस्ट आन्दोलनको ४१ वर्षसम्म निरन्तर क्रियाशिलरुप विभिन्न समयमा पार्टी भित्र भएका गुट, फुट, विभाजन र जातीय सङ्कीर्णताका विरुद्ध लाग्ने एक अविचल संगठक हुन्  ।

धरानलाई बुझेको धरानले चिनेको नेता
धरान घोपा क्याम्प चिल्डङेन स्कुलमा प्रारम्भिक अध्ययन गरी महेन्द्र बहुमुखि क्याम्पस धरानबाट बि.ए. सम्मको अध्ययन पुरा गरेका राई धरान वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् । उनी स्थानीय र जिल्लाको राजनीतिमा बढी भिजेकाले धरानको सामाजिक परिवेश, रूपान्तरण र विकासलाई प्रत्यक्ष बुझेका एउटा साक्षी हुन् ।

जीवनका उर्जावान समय धरानका लागि समर्पण गरेका राई धराने र धराने माटो, बाटोसँग उतिकै परिचित छन् ।

 अन्तरमुखि, भद्र, शालीन र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने नेताका रूपमा परिचित राईका समकक्षी तथा कनिष्ठ नेताहरूलाई यस अघि विभिन्न निर्वाचनहरूमा राईले नै उम्मेदवार बन्न सिफारिस गरे पनि राई आफूले भने कहिल्यै इच्छा जाहेर गरेका थिएनन् ।

उनी समाज सेवामा पनि उत्तिकै क्रिशाशिल छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा सदस्य, नेपाल शान्ति तथा ऐक्यबद्धता प्रवर्द्धन समिति सदस्य, घोपा निमावि धरान १७ विद्यालय व्यवस्थापन समिति अध्यक्ष, ज्ञानोदय मावि धरान ११ विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका छन् ।
उनी किरात राई यायोक्खा सुनसरी जिल्ला समिति सल्लाहकार र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सदस्य समेत हुन् ।

एक दूरदर्शी नेता
उनी जनप्रिय मेयर स्वर्गीय तारा सुब्बाले अघिसारेका धराने जनताका लागि गर्न बाँकी काम पुरा गर्ने अभिभाराको अभिभावकत्व ग्रहण गर्न सक्ने नेता हुन् ।

धरानको समग्र विकासका लागि नेकपाले अघि सारेको प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने अभिभारा बोक्न सक्ने उनी विकासका लागि दूरदर्शी योजना भएका नेता हुन् । 

उनी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने सक्षम छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७