सुकुटे बस दुर्घटनाकी घाइते भन्छिन्, ‘दूध चुसाउँदै थिएँ, खोलामा डुबिसकेको रहेछु’


१८ कार्तिक २०७६, सोमबार
sukute 1

काठमाडौं, १८ कार्तिक । ‘चालकले पटक–पटक गाडी बिग्रिएको बताउनु भएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिंडेको बा २ ख ७२४५ नम्बरको बस पहिलो पटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो ।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रैै थियो’, घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ । ‘शरीर चुर्लुम्म डुबेछ । झस्याङ भएँ । दूध चुसिरहेको छोरो काखमा छैन । म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन, ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ ।

काखमा बच्चा खोज्दा म चाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होश आयो ।’ ‘विस्तारै हिंडिरहेको बस भित्ताबाट एक्कासी छेउमा पुगेर बल्ढ्याङ खायो । मेरो छोरा हराइरहेको छ । धेरैबेर खोजें । अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन । अनि मलाई अस्पताल ल्याइयो’, सरिताले भनिन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७