कहिले तयार हुन्छ संसद चलाउने जनशक्ति ?


१२ पुष २०७४, बुधबार
nepal map

काठमाण्डौं : नयाँ जनप्रतिनिधि चयनसँगै देश संघीय संरचनामा ढलेको छ । भर्खर सम्पन्न निर्वाचनलाई सबै नेता–कार्यकर्ताहरुले पनि यो चुनाव संघीयता कार्यान्वयनका लागि हो भन्दै भोट मागेका थिए ।nepal map

तर, चुनाव भएको यतिका समय बितिसक्दा प्रदेश संरचना अनुसार गर्नुपर्ने महत्वपूर्ण कामहरु नै एक इञ्च अघि बढ्न सकेका छैनन् । अहिले सरकार प्रदेशसभा कसरी चलाउने भन्नेमै स्पष्ट हुन सकेको छैन । सात वटा प्रदेश चलाउनका लागि सबै भन्दा पहिला कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ । सात प्रदेशका लागि आवश्यक कम्तीमा तीन सय ५० कर्मचारी कहाँ छन् भन्ने नै सरकारलाई पत्तो छैन । संघीय संसद सचिवालयले अनौपचारिक रुपमा गरेको अध्ययनअनुसार एउटा प्रदेशको संसद सञ्चालन गर्न कम्तिमा ५० कर्मचारी तत्काल आवश्यक पर्छ । यस हिसाबले सात वटा प्रदेश संसदको सचिवालयमा कम्तिमा चाहिन्छन् । तर, अहिलेसम्म प्रदेश संसदमा कर्मचारी पठाउनेबारे सरकार र संसद सचिवालयबीच कुनै छलफल नै भएको छैन ।

सरकार र संसद सचिवालयले प्रदेश संसदमा कर्मचारी खटाउन के गर्ने भनेर एउटा समिति गठन भएको छ । तर यसले पनि समिति बनाउने बाहेक सिन्को भाँच्ने काम गरेको छैन । तर, यी दुबै पक्ष प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न ढिला भइसकेको बताइरहेका छन् ।
प्रदेश संसदको आकार हेरेर कम्तिमा ४७ देखि बढीमा ९५ सम्म कर्मचारी एउटा प्रदेशको संसद सचिवालयमा आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । संख्याका आधारमा सबैभन्दा ठूलो संसद ३ नम्बर प्रदेशमा हुनेछ भने सबैभन्दा सानो आकारको संसद प्रदेश नम्बर ६ मा हुने देखिएको छ ।

प्रदेश लोकसेवा आयोग गठन भएर उसले कर्मचारी व्यवस्थापन नगरेसम्मका लागि केन्द्रबाटै काजमा भए पनि कर्मचारी खटाउनुपर्ने संसद सचिवालयको तर्क छ । सरकार र संघीय संसद सचिवालयमध्ये कसले कर्मचारी व्यवस्थापन गर्ने भन्ने अन्योल कायमै रहेको सचिवालयका प्रशासनका सहसचिव सुरजकुमार दूराले बताएका छन् । उनले थपे–‘सरकारले कर्मचारी खटाउने हो भने हामीले बैठक सञ्चालनका लागि दक्ष केही जनशक्ति दिन सक्छौं । संसद सञ्चालनका लागि तालिमप्राप्त र अनुभवी कर्मचारी सरकारसँग होइन हामीसँगै छन्, तर कसरी पठाउने भन्ने निर्णय हुन बाँकी छ ।’

नयाँ संरचनामा बन्न लागेका प्रदेश संसद, संसदीय दलका कार्यालय लगायत संरचनाहरु सञ्चालन गर्न कर्मचारी खटाउन ढिला भइसकेको छ । संघीय संसद सचिवालयमै कर्मचारीको अभाव भएकाले अहिलेको जनशक्तिबाट प्रदेश संसदमा पठाउन नसकिने दूराले बताए । अहिले संघीय संसद सचिवालयलाई एक सय भन्दा बढी कर्मचारी अभाव छन् । अहिले संघीय संसद सचिवालयमा ३५० कर्मचारी कार्यरत छन् । यदि संसद सचिवालयले नै प्रदेश संसदमा कर्मचारी पठाउने हो भने कम्तिमा ३५० कर्मचारी थप आवश्यक पर्छ । तत्काललाई सरकारले काजमा पठाउने बाहेक विकल्प नदेखिएको सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७