जन्मकैद माग गर्दै आलमविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै


१८ कार्तिक २०७६, सोमबार
aalam 1
फाइल फोटो

रौतहट, १८ कार्तिक । बम विष्फोटका घाइतेहरू सुई लगाएर बेहोस बनाई ज्यूँदै इँटाभट्टामा जलाएर हत्या गरेको घटनाका अभियुक्त मोहम्मद आफताव आलमलाई सर्वस्वसहित जन्मकैदको मागदाबीसहित आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरिंदैछ ।

आलममाथि जन्मकैदको अभियोगपत्रसहितको फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीको सोही रायका आधारमा सरकारी वकिल कार्यालयले आज दिउँसो मुद्दा दर्ता गर्दैछ ।

प्रहरीले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थसम्बन्धी तीन मुद्दामा अभियुक्त बनाएको छ । अनुसन्धानबाट बम बिष्फोट र हत्यामा आलम दोषी देखिएपछि उनलाई जन्मकैद माग दाबी गरिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

बमकाण्डमा आलमसहित ११ जनालाई अभियुक्त बनाइएको छ । पहिलो संविधानसभा निर्वाचनको वेला बुथ कब्जा गर्ने उद्देश्यले मतदानको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहट–२ बाट नेपाली कांग्रेसका उम्मेदवार आलमकै निर्देशनमा बम बनाउने क्रममा विष्फोट भएको थियो । घटनापछि राज्यशक्तिको दुरुपयोग गर्दै उनले प्रमाणहरू नष्ट गरेको स्थानीयवासी तथा विष्फोटमा ज्यान गुमाउनेका पीडित परिवार बताउँछन् ।

सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले गत २६ असोजमा बमकाण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७