नेकपाले सिफारिस गर्‍यो सात प्रदेश प्रमुखको नाम, यी हुन् नयाँ प्रदेश प्रमुख


१८ कार्तिक २०७६, सोमबार
7 provice pradesh pramukha

काठमाडौं, १८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

जसमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाई (झापा), गोविन्द कलौनी (डढेल्धुरा), र शर्मिला त्रिपाठी (काठमाडौं) रहेका छन् ।

कुन प्रदेशका लागि को भन्ने विषय सरकार र राष्ट्रपतिले निर्णय गर्ने नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् । महासचिव पौडेलले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताए । उनले सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७