कहाँ हराउँछन् वर्षेनी सयौं मान्छे ?


१२ पुष २०७४, बुधबार
mahila 2

इलाम : इलामको नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पशुपतिनगरस्थिते माइती नेपालको कार्यालयमा हराएका मानिस खोजी दिन भन्दै बाक्लै निवेदन पर्छन् । Sima Bazar pashupatinagar

माइती नेपालमा धेरैजसो महिला र बालबालिका हराएका निवेदन पर्छन् । खोजी गर्दा समेत हराएकाहरुमध्ये धेरै भेटिंदैनन् । सन् २०१७ को जनवारीदेखि करीब आठ महिनाको अवधिमा २१ जना महिला र बालबालिका हराएको भन्दै कार्यालयमा निवेदन परेको छ । उनीहरुमध्ये १३ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको माइती नेपालका संयोजक होम ढकालले जानकारी दिए । सन् २०१६ मा ५१ वटा त्यस्ता निवेदन परेका थिए । उनीहरुमध्ये ३१ जना मात्रै फेला परे । यसअघिका वर्षहरुमा पनि हराएर फेला नपर्नेको संख्या निकै छ । माइती नेपाल पशुपतिनगरमा हराएको भन्दै निवेदन पर्नेमा धेरैजसो इलामकै हुन्छन् ।

यता जिल्ला प्रहरी कार्यालयमा पनि मान्छे हराएको भन्दै खोजीका लागि थुप्रै निवेदन पर्ने गरेका छन् । साउन महिनामा मात्रै १५ वटा त्यस्ता निवेदन परेका छन् । उनीहरुमध्ये छ जना मात्रै फेला परेका छन् । आर्थिक वर्ष २०७३-०७४ मा एक सय ४७ जना मानिस हराएको निवेदन परेकामा ४१ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आफन्त हराए भनेर निवेदन दिनेहरुले आफन्त सम्पर्कमा आएपछि त्यसको जानकारी नदिनाले फेला नपर्नेको संख्या धेरै देखिने गरेको प्रहरीले जनाएको छ ।

कतिपय बालबालिका र महिलाहरु घरबाट भागेर रोजगारीका लागि भन्दै भारत पुग्ने गरेका छन् । ‘घरमा छलेर कामका लागि भारत जानेहरुको संख्या पनि निकै छ’–माइती नेपालका संयोजक ढकाल भन्छन्–‘भारतमा काम गरेर बसेका चार नेपाली बालकको भर्खरै उद्धार गरेका छौं ।’ म्यानपावर कम्पनीका एजेण्टहरुले समेत कतिपयलाई भगाएर विदेश पु¥याउ“छन् । भारतीय बाटो हुँदै विदेश जानेको पनि संख्या निकै छ । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजाने तयारीका साथ वन्धक बनाइएका इलामका दुई महिलालाई केहि समयअघि प्रहरीले इटहरीबाट उद्धार गरेको थियो । म्यानपावर कम्पनीका एजेण्टहरुलाई भने पक्राउ गरेर मानव ओसार–पसार तथा वेचविखन मुद्दा चलाइएको छ । यसरी भारतीय बाटो भएर विदेश जानेहरुले समेत घरमा जानकारी दिंदैनन् । कामका लागि विदेश पुग्नेहरु समेत माइती नेपाल र प्रहरीको तथ्याङ्कमा हराएको सूचीमा दर्ज हुन्छन् ।

रोजगारका लागि भन्दै पशुपतिनगर भएर भारत जानेलाई माइती नेपालले रोकेर घर फर्काउने गरेको छ । सन् १०१७ को हालसम्म ७२ जना बालबालिकासहित ९४ महिलालाई सीमामा रोकेर घर फर्काएको माइती नेपालले जनाएको छ । कामका लागि भारत पुगेका चार जना बालबालिकालाई भने उद्धार नै गरिएको संयोजक ढकालले जानकारी दिए । भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको हो । घरबाट भागेर हिंडेका बालबालिका परिवारमा फर्कन नचाहने समस्या छ । तर उनीहरुलाई राख्ने ठाउँ नहुँदा अभियानकर्ताहरुले समस्या भोग्नु परिरहेको छ । सन् २०१६ मा एक सय ६९ जनालाई सीमाबाट रोकेर घर फर्काइएको छ । कतिपय नेपाली भने भारतमा सञ्चालित मार्केटिङ्ग कम्पनीमा काम गर्न भारत जाने गरेका छन् । तर, त्यो क्रम पछिल्लो समय पातलिएको संयोजक ढकालले बताउनु भयो । २०७२ वैशाखको भूकम्पपछि भने भूकम्प प्रभावित क्षेत्रबाट पनि बालबालिकाहरुलाई पशुपतिनगर नाका हुँदै भारत लैजाने गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७