नेकपाका नेता झक्कु सुवेदीलाई हृदयघात, आइसीयुमा राखेर उपचार हुँदै


१९ कार्तिक २०७६, मंगलवार
Jhakku Subedi

काठमाडौं, १९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।

काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिएका छन् । दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएका थिए । त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले बताए ।

उनका अनुसार, चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उनलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

परिवारका सदस्यका अनुसार सुवेदीमा यसअघि मुटुको समस्या देखिएको थिएन, बरू तीन महिनाअघि पत्थरीको अप्रेसन गरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । विप्लव समूहमा आबद्ध छोरा सन्तोष सुवेदी ‘प्रयास’ लाई भेट्न उनी दाङ जाँदै थिए । प्रहरीले केही दिनअघि दाङमा चलाएको अप्रेसनका क्रममा सन्तोष पक्राउ परेका छन् । नेकपा नेता झक्कु सुवेदी रोल्पाका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७