सरकार उद्धार भएकाले प्रदेश प्रमुखले दुई वर्ष गर्न पाएका हुन् : प्रचण्ड


१९ कार्तिक २०७६, मंगलवार
Prachanda

बाँके, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकार उद्धार भएकै कारण भर्खर बर्खास्त भएका प्रदेश प्रमुखले दुई वर्ष निर्वाध काम गर्न पाएको बताएका छन् ।

उनले सरकार परिवर्तन भएपछि नयाँ प्रदेश प्रमुख नियुक्त हुनु नौंलो कुरा नभएको समेत बताएका छन् । उनले प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टीभित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको बताएका छन् ।

बाँकेमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा काम गर्ने हो । सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ । हाम्रो सरकार उदार भएकाले दुई वर्षसम्म काम गर्न दिएको हो ।’

प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया ठूलो नभएको र सरकारकै क्षेत्राधिकारको कुरा भएको उनले बताएका छन् । यस्तै अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक नै भएको बताएका छन् । प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताएका हुन् ।

‘माधवजीले एक–दुई जनाको नाम पारौं भन्ने जोड दिनु भएको थियो । बैठकले त्यो निर्णय गरेन । उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ उनले भने । नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘उहाँले म मान्दिनँ भन्नु भएको छैन, मेरो भिन्न मत राख्छु भन्नु भएको छ ।’

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

उनले प्रदेश–५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि बताएका छन् । ‘जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनु पर्छ । त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिन्छ । पूरानै शहरमा बनाउनु पर्छ भन्ने पनि छैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७