युवाबीच ५० अण्डा खाने बाजी, ४२ औं अण्डा खाँदै गर्दा गयो ज्यान


१९ कार्तिक २०७६, मंगलवार
egg photo
सांकेतिक तस्वीर

नयाँदिल्ली, १९ कार्तिक । कहिलेकाहीं साथीसाथीबीच रमाइलो गर्न बाजी राख्ने चलन पुरानै हो । यस्ता बाजीमा खानेकुरा खाने बाजी समेत पर्ने गर्छ । तर, नहुँदो काममा अनावश्यक हठ गर्दा कहिलेकाहीं स्वास्थ्यलाई हानी मात्र गर्दैन ज्यान जाने समेत गर्छ ।

यस्तै घटना भारतमा भएको छ । भारतको उत्तर प्रदेशमा ५० वटा अण्डा खाने बाजी लगाएर ४२ औं अण्डा खाँदाखाँदै एक व्यक्तिको मृत्यु भएको छ । भारतीय प्रहरीले जनाए अनुसार सोमबार उत्तर प्रदेशको जाउनपुर जिल्लामा यसरी बाजी राख्दा ४२ वर्षीय सुवास यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार यादव र उनका साथीहरुबीच विवाद भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो । यादवले सोही क्रममा आफूलाई २००० भारु दिएमा ५० वटा अण्डा खाने बाजी राखेका थिए ।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर यादवलाई खान दिएका थिए । ४१ वटासम्म अण्डा उनले राम्रैसँग खाएका थिए । तर, ४२ औं अण्डा उनको मुखमा परेपछि उनी बेहोस भएका थिए ।
उनलाई तत्कालै नजिकको क्लिनिकमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो । यादवको होस आएन र उनको केही घण्टामा नै मृत्यु भएको थियो ।

चिकित्सकले धेरै अण्डा खाएर यादवको मृत्यु भएको जनाएका छन् । सो घटनाको बारेमा परिवारका सदस्यले भने केही पनि बताएनन् । ५० वटा अण्डाको तौल करिब ६ पाउण्ड हुने र त्यो पेटलाई चाहिने औसत भन्दा निकै धेरै हुने जनाइएको छ ।

गार्जियनका अनुसार सन् २०१३ मा लण्डनमा एउटा अण्डा खाने प्रतिस्पर्धामा भाग लिँदा शारोन डिक्सन नामकी एक महिलाको मृत्यु भएको थियो । उनको उपचारको क्रममा दुई दिनपछि अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी सन् २०१२ मा धाओ फ्यान्टासी नामका व्यक्तिको अण्डा खाने म्याराथनका क्रममा मृत्यु भएको अष्ट्रेलियाको न्यूज डट कम एयुले जनाएको छ । उनले साथीहरुको चुनौतिका कारण २८ वटा काँचो अण्डा खाएकोमा पेट दुखेर अस्पताल लग्दा उनको मृत्यु भएको थियो । खानेकुरा खासगरी अण्डाको प्रसंगमा हुने प्रतिस्पर्धामा मानिसको मृत्यु हुने गरेको छ । न्यूज विकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७