मध्यमोदीको सुरुङ खोल्ने काम सकियो, मंसिरभित्र विद्युत उत्पादन गर्ने लक्ष्य


२० कार्तिक २०७६, बुधबार
madhya modi

पर्वत, २० कार्तिक । मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो ।

सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १०० मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कंक्रिटिङ’ को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए ।

आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो । ‘सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौ’, आचार्यले भने ।

निर्माणकार्य शुरु भएपछि विसं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ । आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादन गृहको कामसमेत सोमबारबाट शुरु भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिए ।

मोदीखोलाको आडैमा निर्माण हुने उत्पादनगृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । ‘टक–पटक पावरहाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन । ‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौं’, आचार्यले भने, ‘अब धमाधम काम हुन्छ ।’

सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररूपमा काम भइरहेको उनले जानकारी दिए । मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म दुई हजार ६९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ ।
झण्डै रु दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मंसिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो ।

विसं २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ । सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७