प्रहरीले सभामुखदेखि सांसद समात्यो, तर आफ्नै हाकिम समाउन पर्‍यो ‘सकस’


२० कार्तिक २०७६, बुधबार
dsp dungel

काठमाडौं, २० कार्तिक । प्रहरीले सभामुख समात्यो, बहालवाला सांसद पनि हिरासतमा छन् । तर, आफ्नै हाकिमलाई अहिलेसम्म किन समात्न सकेन ?

महान्यायाधिवक्ता कार्यालयबाट पुलिस हेड क्वार्टरमा यस्तो ताकेता जान थालेपछि अहिले प्रहरी आफ्नै संगठनमा जागिर खाएर बाटो बिराउने कर्मचारीको खोजीमा जुटेको छ । यसरी महान्यायाधिवक्ता कार्यालय तात्तिनुको कारण हो, सोह्रखुट्टे प्रहरी बृत्तमा जाहेरी परेर पनि सरकारी वकिलको मिलेमतोमा पक्राउ पुर्जी जारी नगरिंदा एक जना डिएसपी अहिलेसम्म फरार हुनु ।

चैत २६ गते रानीबारीका लालेन्द्र शेरचनको घरमा डकैती भएको थियो । लगत्तै अपराध महाशाखाले वैशाख ६ गते तीन जनालाई समात्यो । समातिनेमा चन्द्रागिरी–८ का ३८ वर्षीय नवराज तामाङ, नुवाकोट बेलकोटगढी–४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ र विक्रम श्रेष्ठ थिए ।

यो घटनाका मुख्य योजनाकार मानिएका विक्रम श्रेष्ठसँग डिएसपी कुमोध ढुङ्गेलको सम्पर्क भेटिएपछि प्रहरीले अनुसन्धान गर्‍यो । चैतको २७ र २८ गते विक्रमसँग उनको फोन सम्पर्क भेटियो । पछि विक्रमले बयानमै भनिदिए, ‘डिएसपी सरलाई यसबारे जानकारी छ ।’ उनले घटना भएकै दिन ढुङ्गेललाई महाराजगञ्जस्थित भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका छन् ।

उनीहरूले शेरचन, उनकी श्रीमती र घरमा काम गर्दै आएकी मिठु थकालीलाई खुकुरी देखाउँदै हातखुट्टा बाँधे, मुखमा टेप टाँसिदिए र घरबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटे । यस्ता जघन्य कसुरमा वारदातस्थलमा नभए पनि बयानमा पोलिएका व्यक्ति योजनाकार हुन् भने पक्राउ गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, ढुङ्गेल तत्काल पक्राउ परेनन्, जागिरबाट निलम्बन मात्र भए । यस्तै डकैतीको घटनामा २०६१ सालमा तत्कालीन इन्स्पेक्टर सुरेश ढुङ्गानाहरू समातिएर जेल परेका थिए । उनीसँगै हिमाल आरोही पेम्बा शेर्पा पनि थिए ।

तर, शक्ति केन्द्रको प्रभावमा सुरेशले जागिर जोडे, तर ०६३ मा उनी बर्खास्त भए । अहिले ढुङ्गेल त्यस्तै खेलो मिलाएर पक्राउ पर्नबाट जोगिँदै आएको सूचना महान्यायाधिवक्ता कार्यालयले पाएपछि प्रहरीलाई तताइएको हो ।

उनै डिएसपीको नाम गत वर्ष भारतबाट पक्राउ गरी ल्याइएका र हाल भद्र बन्दी गृहमा रहेका अमर रानामगरले पनि पोलेका छन् । अमर निर्माण व्यवसायी संघका अध्यक्ष शरद् गौचनमाथि गोली प्रहार गर्ने व्यक्ति हुन् । नेपाली सेनाका तालिमप्राप्त सिपाही हुन्, पछि भगौडा खाली भएर आपराधिक काममा लागेको बताएका छन् ।

त्यसरी पक्राउ गरेर ल्याइएका कसुरदारमध्ये लोप्साङ लामाले ०७३ पुस ४ गते एमाले कार्यकर्ता दुर्गा तिवारीलाई आफैले गोली प्रहार गरेको स्वीकारेका छन् । रूपन्देही, देवदह नगरपालिका खैरहनीमा उक्त हत्याकाण्ड भएको खबर जनआस्थाले छापेको छ ।

अहिले प्रहरीले दुर्गा तिवारीको हत्या र ०७३ चैत्र २९ गते काठमाडौं, गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’ को प्रांगणमा दावा लामालाई ३ राउण्ड गोली प्रहार गरिएका घटनामा ती डिएसपी संलग्न हुन्–हैनन् भनेर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७