क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्कर नेपाल आउँदै


२० कार्तिक २०७६, बुधबार
sachin tendulkar

काठमाडौं, २० कात्तिक । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ । १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानी भइरहेको छ ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ । उनी सोही दिन भारत फर्कने बताइएको छ ।

सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए ।

विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुने छैनन् । यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ ।

यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी–१० लिगमा हुनेछ ।
पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको थियोे । युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी–१० लिगका कारण सम्भव नहुने भएको छ ।

सर्वकालीन महान खेलाडी सचिन
भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्येका एक हुन् । लिटिल मास्टर तथा मास्टर बलास्टरको उपनाम समेत पाएका तेन्दुलकर विश्व क्रिकेटकै सर्वाधिक सफल क्रिकेटर हुन् ।

विश्व क्रिकेटमा उनको ४ कीर्तिमानी रहेको छ । उनी विश्वकपमा सचिन सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यान हुन् । सचिनले १९९२ देखी २०११ सम्म गरि ६ पटक विश्वकप खेलेका थिए । ६ पटकको विश्वकपमा ४५ खेलमा ४४ इनिङमा ब्याटिङ गरेका सचिनले ६ शतक १५ अर्ध शतक प्रहार गर्न सफल भए । उनको उत्कृष्ट प्रर्दशन १ सय ५२ रन छ । विश्वकपमा ६ शतक प्रहार गर्ने सचिन एक्लो ब्याट्सम्यान हुन् । सचिनपछि विश्वकपमा कुमार सांगाकारा र रिकी पोन्टिङले समान ५ शतक प्रहार गरेका छन् ।

यसैगरी उनी विश्वकपमा सर्वाधिक रन बनाउने गर्ने ब्याट्सम्यान हुन् । ६ विश्वकपमा सचिनले ४५ खेलमा ४४ इनिङ्गमा ५६।९५ को औसतमा कुल २ हजार २ सय ७८ रन जोडेका छन् ।

सचिन बाहेक विश्वकपमा अन्य कुनै पनि ब्याट्सम्यानले २ हजार रन बनाउन सकेका छैनन् । सचिन पछि अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङले ४२ खेलमा १७ सय ४३ रन जोड्न सफल भएका छन् ।

यस्तै विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने रेकर्ड पनि सचिनको नाममा छ । ६ पटक विश्वकप खेल्दा सचिनले कुल ४४ खेलमा ब्याटिङ गर्ने मौका पाएका सचिनले कुल २ सय ४१ चौका प्रहार गरेका छन् । उनीपछि सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको रुपमा कुमार सांगकारा रहेका छन् । उनले ३५ खेलमा १ सय ४७ चौका प्रहार गरेका छन् ।

सचिनको नाममा एकै विश्वकपमा सर्वाधिक रन प्रहार गर्ने रेकर्ड पनि छ । उनले सन २००३ को विश्वकपमा सचिनले ११ खेलमा १ शतक र ६ अर्ध शतक सहित ६१.१८ को औसतमा कुल ६ सय ७३ रन प्रहार गरेका थिए । जुन एकै विश्वकपमा बनेको सर्वाधिक रन समेत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७