लण्डन जेलमा रहेका हिरा कारोबारी नीरव मोदीले भने, ‘भारत पठाइए आत्महत्या गर्छु’


२१ कार्तिक २०७६, बिहीबार
neerab

काठमाडौं, २१ कार्तिक । लण्डनस्थित कारागारमा रहेका हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन् ।

मंगलबार अदालतमा उपस्थित गराइएका मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको भन्दै यदि भारत पठाइए आत्महत्या गर्ने बताएका हुन् । भारतले नीरबलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आएको छ ।

आफूलाई जमानतमा रिहाइको माग गर्दै आएका नीरबलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । उनले आफूलाई जेलमा तीन पटकसम्म कुटपिट गरिएको समेत बताएका छन् । जेलमै रहेका दुई जना कैदी उनी भएको ठाउँमा आएको र ढोका थुनेर कुटपिट गरेको मोदीले बताएको खबर टाइम्स अफ इण्डियाले लेखेको छ ।

यद्यपि यी सब दलील पेश गरे पनि अदालतमा कुनै असर नदेखिएको र उनको जमानतमा रिहाइको माग खारेज भएको समाचारमा उल्लेख छ । यो समेत गरी चार पटकसम्म उनको जमानतमा रिहाइको माग अदालतले खारेज गरिसकेको छ ।

नीरब मोदी सात महिनादेखि लण्डनको वाड्सवर्थ जेलमा छन् । उनी भागेर लण्डन पुगेको बेला सात महिना अगाडि होल्बोर्न इलाकाबाट पक्राउ परेका थिए । उनी भारतमा सन् २०१८ मा भएको पन्जाब नेशनल बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् ।

बैंकबाट करिब १३ हजार करोड भारु घोटाला भएको थियो, यसलाई भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ । उनी सन् २०१० मा स्थापना गरिएको नीरब मोदी ग्लोबल डायमण्ड ज्वेलरी हाउसको संस्थापक समेत हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७