भारतको नक्सामा लचिलो हुने सवाल हुँदैन : प्रचण्ड


२१ कार्तिक २०७६, बिहीबार
Prachanda

काठमाडौँ, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले जारी गरेको नक्सामा नेपाल लचिलो हुने ठाउँ नरहेको बताएका छन् ।

पोखरामा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दै प्रचण्डले भारतले जारी गरेको नयाँ नक्सामा नेपाल लचिलो हुनु पर्ने ठाउँ नरहेको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले कालापानी नेपालको नक्साभित्र परेकाले नेपाललाई सैह्य नहुने बताएको हो । ‘राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहीँ कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन, उनले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’

बुधवार साँझ नै सरकारले पनि विज्ञप्ति जारी गर्दै भारतको एकलौटी निर्णय स्वीकार नभएको धारण सार्वजनिक गरिसकेको छन् । भारतले आफ्नो नक्सामा नेपाली भूमि पारेको भन्दै विरोध र बहस तातिरहेका बेला भारतले भने नक्सामा नेपाली भूमि नपरेको दाबी गरेको छ ।

उता भारतले भने हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भू–भाग परेको नेपालको दाबीलाई अस्वीकार छ । उसले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको जिकिर गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ।’

नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने उनले बताएका छन् । साथै उनले दुई देशबीचको सम्बन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने पनि औँल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७