भारतीय दूतावास अगाडि नै विद्यार्थीले जलाए भारतको ‘विवादित’ नक्सा

सीमा नाकामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


२२ कार्तिक २०७६, शुक्रबार
india

काठमाडौं, २२ कार्तिक । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको विवादित नक्सा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि नै जलाएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन् ।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुस समेत निकालेका थिए । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।
सीमा नाकामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
भारतले नेपालको भू–भाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।

‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा विरोध प्रदर्शन गरेका हुन् । नेपाल भारत सीमास्तम्भ ७९३–१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गर्दै सीमा नाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समेत मोटसाइकल ¥याली निकाल्दै भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका छन् ।

महेन्द्रनगरको पुस्पलाल चोकबाट निस्किएको विद्यार्थीहरुको र्‍याली ७ नम्बर सीमास्तम्भमा पुगेर भारतविरुद्ध नाराबाजी गर्दै गड्डाचौकी फर्किएर कोणसभामा परिणत भएको थियो ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७