अभिनेत्री जोआन्ना लुम्ले बनिन् भ्रमण वर्षको सद्भावना दूत, नेपाल भ्रमण गर्ने बेलायती बढ्दै


२२ कार्तिक २०७६, शुक्रबार
joaana

काठमाडौं, २२ कार्तिक । ब्रिटिस गोर्खाको समान हक र अधिकारको पक्षमा न्यायिक लडाई लडेर नेपालीबीच लोकप्रिय बेलायती अभित्रनेत्री जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष–२०२० को सद्भावना दूत नियुक्त भएकी छन् ।

बेलायतमा ब्रिटिस गोर्खाको न्यायको पक्षमा वकालत गरेकी अभिनेत्री तथा लेखिका लुम्मेलाई बेलायत भ्रमणमा रहेका सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा सद्भावना दूत नियुक्त गरेका हुन् ।

बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन) मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जानकारी गराएको छ ।

सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दिपकुमार बर्मा र बेलायतकै धनाढ्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

बेलायतमा आयोजन भएको पर्यटन मेलामा भाग लिन गत साता लण्डन पुगेका मन्त्री भट्टराई बेलायतका बिभिन्न राजनीतिक नेता, सरकारी अधिकारी र आरोहीहरुसँग पनि भ्रमण वर्षका सन्दर्भमा भेटघाट र छलफललाई तीब्र बनाएका छन् ।

लण्डनस्थित नेपाली दूतावासमा आयोजत कार्यक्रममा १४ पटक सगरमाथा आरोहण गरिसकेका चर्चित बेलायती पर्वतारोही केन्टन कुलले जीवनमा एकपटक नेपाल भ्रमण गर्नैपर्ने बताए । उनले हिमालले भन्दा पनि आफूलाई नेपाली जनताले प्रभावित पारेको अनुभव सुनाएका थिए ।

नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य पूरा गर्न मन्त्री भट्टराई एक साताभर लण्डनमा नेपाल प्रवर्धन कार्यक्रममा सहभागी भएका छन् । यसै अभियानलाई सहयोग पुग्ने गरी तीनज ना सद्भावना दूत तोकिएको राजदूत दुर्गावहादुर सुवेदीले बताएका छन् ।

बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको दूतावासका प्रवक्ता शरदराज आरणले बताएका छन् ।

बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत प्रभावकारी देखिएको गैरआवासीय नेपाली संघ एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बताइन् । सहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्धनन सामग्री राखेर प्रचार तीब्र पारिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७