शर्त पालना नभएको भन्दै अन्तः शुल्क स्टिकर नछाप्न सरकारलाई निर्देशन


२२ कार्तिक २०७६, शुक्रबार
lekha

काठमाडौं, २२ कार्तिक । संसदीय समितिले अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली कम्पनीले छपाइ गर्न प्रतिष्पर्धा नै गर्न नसक्ने गरी सरकारले स्टिकर छपाइसम्बन्धी टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले त्यस सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ । नेपाली कम्पनीहरुले प्रतिष्पर्धा नै गर्न नपाउने गरी अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी बोलपत्र आह्वान सरकारले गरेकाले तत्कालका लागि प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

समितिले एक वर्षअघि नै अन्तः शुल्क स्टिकर छपाइ गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी शर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो । तर त्यो निर्देशन पालना नभएपछि समितिले पुनः त्यो प्रक्रिया अघि नबढाउन सरकारलाई सचेत गराएको हो ।

समितिले त्यस सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतका सम्बन्धित पदाधिकारीहरुलाई त्यस सम्बन्धमा जानकारी लिन समितिको आगामी सोमबारको बैठकमा उपस्थित हुन पनि पत्राचार गरिएको सचिव पाण्डेले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले समितिले दिएको निर्देशन समेत पालना नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राजेन्द्रकुमार केसीले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

बैठकमा समितिका सदस्यहरुले सरकारले सिमेन्टको गुणस्तर कमजोर बनाउन गतिविधि गरेको समाचार बाहिर आएको उल्लेख गर्दै त्यस सम्बन्धमा पनि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७