नेपालमा पहिलोपल्ट गोताखोर तालिम


२२ कार्तिक २०७६, शुक्रबार
gotakhor

चिप्लेढुङ्गा, २२ कार्तिक । नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडीपीको सहयोगमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी पकली, इटहरीले यो तालिम प्रदान गरेको हो ।

बंगलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सन्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले बताए ।

तत्कालीन समयमा एक व्यक्तिलाई करिब रु १२ लाख लगानी गरेर युएनडीपीले बंगलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालिमप्राप्त गोताखोरबाट उद्धारकार्य हुँदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालिम सञ्चालन गरिएको उनले बताए ।

उनले भने–‘यो तालिम निकै खर्चिलो र जोखिमपूर्ण छ । ९ वर्षपछि बल्ल हामीले यो तालिम सन्चालन गर्न सफल भएका छौं ।’ दुई वर्षसम्म त उपकरणका लागिमात्रै कुर्नुपरेको उनको भनाइ छ ।

‘२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनको ‘प्याकेज’ बनाएर तालिम शुरु गरेका हौं’–उनले भने । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोशी र फेवातालमा गोताखोर तालिम दिइएको हो ।

नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ । यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराईले बताए ।

उनले भने–‘तालिम खर्चिलो पनि छ । यसका उपकरण निकै महँगा हुन्छन् र उत्तिकै जोखिमपूर्ण पनि हुन्छन् । दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।’ नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान दीर्घनारायण पौडेलले तालिम प्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताए ।

‘शुरुमा त निकै गाह्रो र डर लाग्यो । तालिम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो । अहिले ढुक्कसँग गर्नसक्छु’–अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भने–‘अब ६५ फिट तलप नि अक्सिजन सेटअप बक्सका साथ उद्धारमा जानसक्छु ।’

थोरै संख्यामा तालिम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालिम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उनको भनाइ छ । सातै प्रदेशमा तालिमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप तालिम प्रदान गरिएको बताइएको छ ।

फेवातालमा तालिम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ ।हाल चितवनको कुरिनटार तालिम केन्द्र, काठमाडौं र पोखरामा १५ जना तालिमप्राप्त गोताखोर कार्यरत् छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७