अन्तःशुल्क स्टिकर छपाइको टेण्डर आह्‍वान यथास्थितिमा राख्न लेखा समितिको निर्देशन


२२ कार्तिक २०७६, शुक्रबार
lekha samiti

काठमाडौं, २२ कार्तिक । नेपाली कम्पनीहरुलाई पनि भाग लिन पाउने गरि अन्तःशुल्क स्टिकर छपाइको टेण्डर आह्‍वान गर्न दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आपत्ती जनाएको छ ।


सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले समितिको निर्देशनको बेवास्ता गर्दै टेण्डरमा राखिएको सर्तले नेपाली कम्पनीले भाग लिन नसक्ने देखिएको भन्दै यस बिषयमा अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य पदाधीकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

यसअघि टेण्डरमा राखिएको सर्तले नेपाली कम्पनीले भाग लिन नसक्ने भएपछि समितिले सर्त परिवर्तन गरी नेपाली कम्पनीलाई भाग लिन मिल्नेगरी मिलाउन निर्देशन दिएको थियो । तर हालै माग गरिएको स्टिकर छपाइको टेण्डरमा ५ बर्षभन्दा बढि काम गरेको तथा तीन देशमा काम गरेको हुनुपर्ने लगायतका सर्त राखिएको छ ।

समितिले अर्को निर्णय नहुदासम्म टेण्डरको काम यथास्थितिमा राख्न निर्देशन पनि दिएको छ । बैठकमा समिति सदस्यहरुले समितिको निर्देशन बिपरित भएको टेन्डर प्रक्रियाका बारेमा सरकारसंग स्पष्टिकरण माग्नुपर्ने धारणा राखेका थिए ।

एकैपटक पाँच वर्षको लागि स्टिकर छपाएर ठूलो रकम विदेश पठाउन खोजेको समितिको आरोप छ । नोट छाप्नको लागिसमेत आवश्यक नपर्ने सर्त स्टिकरमा राखेको र नेपाली कम्पनीलाई बन्देज लगाउने काम भएको जनाएको समितिको निष्कर्ष छ ।

बैठकले ओपिसि सिमेन्टको गुणस्तर मापदण्ड २०७६ असार देखि परिवर्तन गरिएकाले यसले सिमेन्टको गुणस्तर खस्कीएको गुनासो आएको भन्दै सरोकारवालासंग छलफल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७