आलमको नयाँ चाल : पीडित परिवारलाई नै आफ्नो बचाउमा प्रयोग


२३ कार्तिक २०७६, शनिबार
osi akhtar2019 11 09 06 28 26

रौतहट, २३ कार्तिक । कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ ।

विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छिन् ।

२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा हिरासतमा रहेका आलमविरुद्ध अदालतमा थुनछेक बहस जारी रहेकै वेला अमना बयान फेर्दै अदालत पुगेकी हुन् । उनले बिहीबार पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी थिइन् । तर, शुक्रबार भने अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी हुन् ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार अमनाले आलमविरुद्ध बयान फेर्दै आफ्ना पति इँटाभट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको निवेदन दिएको जानकारी दिए ।

इँट्टाभट्टामा जलाएर मारिएका भनिएका ओसी वैदेशिक रोजगारमा गएर नफर्किएको व्यहोरासहितको निवेदन उनले अदालतमा दर्ता गराएकी छिन् । श्रेस्तेदार पराजुलीले भने, ‘मेरो श्रीमान् विदेशमा गएपछि बाँचेको या मरेको खबर नआएको भन्दै उनी अदालतमा आएकी हुन् ।’

पीडितहरूको पक्षमा बहस गरिरहेका पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले पनि पीडितपक्षका एक जनाले बयान फेर्दै अदालतमा निवेदन दिएको पुष्टि गरे । ‘आलम प्रकरणमा बिहीबारदेखि थुनछेक बहस सुरु भयो । तर, बहस नसकिँदै एक जना साक्षी बयान बदल्न बेन्च आइपुगे,’ डा. संग्रौलाले भने ।

डा. संग्रौलाले यसअघि आफूहरूसँगको भेटमा अमनाले पछिल्ला दिन आफू विचलित भएको बताएकी थिइन् । ‘छोराको हत्यारालाई पक्राउ गर्न जाहेरी दिएकी सासु रोक्सना खातुनको पनि हत्या भएपछि आफू विचलित भएको उनले बताएकी थिइन्,’ शुक्रबार अदालतमै आएर बयान बदलिन् ।’ उनको यस्तो निवेदन आउनुमा आलमले पीडितलाई नै आफ्नो बचाउका लागि प्रयोग गर्न थालेको स्थानीय जानकार बताउँछन् ।

वादी पक्षको बहस सकियो
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका आलमको मुद्दामा थुनछेक बहसको दोस्रो दिन शुक्रबार वादी पक्षको बहस सकिएको छ । आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीनवटा मुद्दा दायर गरिएको छ । आलममाथि लगाइएका तीन मुद्दामा शुक्रबार वादीपक्षबाट बहस भएको हो ।

वादी पक्षबाट पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, सह–न्यायाधिवक्ता रामप्रसाद पन्थी, जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, कुमार खतिवडा, दिनेश त्रिपाठी, अधिवक्ता गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, आशिकराम कार्की, मनीषकुमार श्रेष्ठ, पुष्पराज पौडेलसमेत १० जनाले बहस गरेका थिए ।

तत्कालीन गृहमन्त्रीमाथि कारबाहीको माग
अधिकांश कानुन व्यवसायीले प्रतिवादी आलमसहित घटनामा सामेल भएका सबैलाई मागदाबीअनुसार हदैसम्मको कारबाहीको माग गरेका छन् । साथै, आलमलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही अगाडि बढाउन माग गरेका छन् ।

बहसका क्रममा कानुन व्यवसायीहरूले तत्कालीन गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । तत्कालीन गृहमन्त्री, प्रजिअ तथा प्रहरी अधिकारीहरूले घटना लुकाउने प्रयास गरेकाले उनीहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने कानुन व्यवसायीहरूको भनाइ छ । बहसको क्रममा उनीहरूले मानवताविरुद्ध गरिएको क्रुर अपराधमा अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा दायर गर्न सकिने धारणा राखेका छन् ।

सशस्त्रका तत्कालीन एसपीको बयान बाँकी
बमकाण्डका वेला रौतहटमा सशस्त्र प्रहरी बलका एसपी रहेका रामकृष्ण लामाको बयान बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई नभेटेपछि प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ । स्रोतका अनुसार लामा अहिले उपचारको सिलसिलामा हङकङमा छन् । नेपाल प्रहरीका एसपी रहेका लक्ष्मण न्यौपानेको भने टीकापुरमा हत्या भएको थियो ।

कानुन व्यवसायीलाई प्रहरीको सुरक्षा
थुनछेक बहसमा पीडितको पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीहरूको सुरक्षामा प्रहरीले थप सतर्कता अपनाएको छ । प्रहरी स्रोतका अनुसार कानुन व्यवसायीहरू बसेको आवास क्षेत्रमा लगातार प्रहरीको तैनाथी बढाइएको छ ।

थुनछेक बहसमा सहभागी पूर्वमहान्यायाधिवक्ता डा. संग्रौलाले पनि पहिलोपटक प्रहरीको सुरक्षामा बसेर बहस गर्नुपर्ने अवस्था भोगेको अनुभव सुनाए । पीडितको पक्षमा बहस गरिरहेका वकिलहरू बसेको क्षेत्र वरपर प्रहरी तैनाथ गरिएको पनि बताए ।

अमना अहिले आफ्ना दुई छोरासहित माइतमा बस्छिन् । आर्थिक समस्याका कारण छोराछोरीलाई पढाउन समेत नसकेकी अमनाले बयान बदलेपछि उनीमाथि आलमपक्षले दबाब वा प्रलोभन दिएको अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७