‘अकुपाई टुँडिखेल’ : आज मानव साङलोले घेरिंदै


२३ कार्तिक २०७६, शनिबार
tudikhel

काठमाडौं, २३ कार्तिक । काठमाडौंको मुटुमा रहेको एक मात्र विशाल खुला स्थान टुँडिखेल आज ‘अकुपाई टुँडिखेल’ शुरु हुने भएको छ । आज (शनिबार) ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर बिहान टुँडिखेल घेर्न लागेको हो ।

अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको संयोजक विजयलाल श्रेष्ठले जानकारी दिएका छन् ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक शुरुवात गरिने श्रेष्ठले जानकारी दिएका छन् । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर, अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

यो अभियानमा विभिन्न राजनीतिक दल, स्थानीय नागरिक, अभियन्तालगायतका व्यक्तिको सहभागिता रहने जनाइएको छ ।
यस्तो छ अक्कुपाई अभियानको उद्देश्य
टुँडिखेल काठमाडौको प्राकृतिक फोक्सो (स्वच्छ हावाको स्रोत) भएकाले यसको संरक्षण गर्नु अति आवश्यक रहेको छ । त्यस्तै भूमिगत जल भण्डारको पुनर्भरणको स्रोत पनि हो टुँडिखेललाई मानिने गरेको छ ।

महांकाल, दुई माजु तथा रैथानेहरुको इस्ट देवतालगायत अन्य कैयौं मूर्त, अमूर्त सांस्कृति सम्पदा भएका क्षेत्रको संरक्षण गर्नु आवश्यक रहेको अभियन्ताहरुको भनाई छ ।

पाहे चे जात्रा, घोडे जात्रा, गुरुमापालाई भात खुवाउने जस्ता कैयौं जात्रा हुने ठाउँ र ऐतिहासिक, राजनैतिक परिवर्तको साक्षीका रुपमा रहेको खुल्ला मञ्च भएको क्षेत्र अतिक्रमण हुँदै गएकाले यसको बचाउमा सबै एकजुट भएर लाग्नुपर्ने सरोकारवालाको माग रहेको छ ।
कसरी खुम्चिदैछ टुँडिखेल ?
कुनै बेला त्रिपुरेश्वर चोकदेखि नारायणहिटी दरबारसम्म टुँडिखेल फैलिएको थियो । विभिन्न भौतिक संरचना बनाउँदै टुँडिखेललाई निकै नै खुम्च्याइएको छ । अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क नै बनाइएको छ ।

त्यस्तै कमिसनको चक्करमा टुँडिखेल क्षेत्रमा अनधिकृत रुपमा पसल सञ्चालन गर्न दिइएको छ । त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने काम भएको छ । यसले गर्दा भूमिगत जल भण्डारको पुनर्भरण पनि राम्रोसँग हुन पाएको छैन ।
अभियानमा राजनीतिक रङ देखियो : विद्यासुन्दर शाक्य
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने अभियानमा राजनीति रङ देखिएको गुनासो गरेका छन् ।

उनले अभियान राम्रो भए पनि केहि राजनीति दलले आफ्नो स्वार्थमा अभियानलाई लिएर जस लिने प्रयास भइरहेको बताएका छन् । काठमाडौंको टुँडिखेल साँस्कृतिक सम्पदासँगै हरेक राजनीतिक परिवर्तनको साक्षी भएकाले पनि अभियानमा आफ्नो सहयोग रहने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७