भारतले जानकारी नै नदिई बन्द गर्‍यो नेपालगञ्ज सीमा नाका


२३ कार्तिक २०७६, शनिबार
Nepalgunj Naka Band Sima

नेपालगञ्ज, २३ कार्तिक । भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला भारतले नेपालगञ्जस्थित सीमा नाका बन्द गरेको छ ।

भारतले नेपाललाई कुनै औपचारिक जानकारी नै नदिई शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको स्थानीयले जानकारी दिएका छन् । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका शिल गरेको जनाइएको छ ।

भारतले नाका शिल गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक जानकारी नआएको बताएका छन् ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका शिल गर्नु परेको जनाएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरूले बिहान मात्रै नाका शिल गरेको बारेमा जानकारी दिएको बताएका छन् ।

भारतीय प्रहरीले शनिबार विहानैदेखि नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ आउन दिइएको छ ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरू अलपत्र भएको जनाइएको छ । भारततिर जान लागेका नेपाली नाका शिल भएपछि रोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७