तीन हजार बढी मानव साङ्लोले घेरियो टुँडिखेल


२३ कार्तिक २०७६, शनिबार
aakupai

काठमाडौं, २३ कार्तिक । अतिक्रमणको चपेटामा परेको काठमाडौंको मुटुस्थित टुँडिखेल क्षेत्र संरक्षणका लागि दबाब शनिबार हजारौंको मानव साङ्लो बनाएर टुँडिखेललाई घेरिएको छ ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत तीन हजार बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा मानव साङ्लो बनाई टुँडिखेललाई घेरिएको हो ।

टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् । साँस्कृतिक झाँकीसहित शुरु भएको अभियानमा राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, हिसिला यमी, गगन थापा, भिमसेनदास, सञ्चारकर्मी रवी लामिछानेलगायतले ऐक्यवद्धता जनाएका छन् ।

टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको शुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।

‘प्राकृतिक र सांस्कृतिक महत्वका साथै राजनीतिक रुपमा इतिहास बोकेको टुँडिखेल सेना र सरकारको अतिक्रमणमा छ,’ संयोजक श्रेष्ठ भने, ‘अनधिकृत पसल सञ्चालन, पार्किङ, बसपार्क र त्यहाँ गरिएको ढलानले टुँडिखेलको वास्तविक क्षेत्रफल समेत खुम्चिँदै गएको छ ।’

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल हाल भवन बनाउने सामान, कामदार बस्ने ठाउँको रुपमा समेत विकसित भएको छ । टुँडिखेल सार्वजनिक जग्गा भएकाले पनि यसलाई रोक्न अति आवश्वय भएको श्रेष्ठ बताएका छन् । उनी भन्छन्, ‘अभियानको पहिलो प्राथमिकता टुँडिखेलमा रहेको अस्थायी संरचना हटाउनु हो ।’

अभियानमा नागरिकस्तरबाट समर्थन गर्दै वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्नु पर्ने बताए । ‘टुँडिखेललाई कृतिम संरचनाले बार्ने र घेर्ने काम भएको छ, श्रेष्ठले भने, ‘प्राकृतिक प्रकोप र आपत विपदमा नागरिकले आश्रय लिने ठाउँ अतिक्रमण गर्नु भनेको जघन्य अपराध हो ।’

उनले टुँडिखेललाई खुल्ला राखेर अब पार्क बनाउनु पर्ने धारणा समेत राखे । ‘यस्तो खुल्लापार्क प्रत्येक नगरमा हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । खुल्ला ठाउँ जति सबै भूमाफियाले ओगटेका छन् ।’ श्रेष्ठले थपे, ‘भूमाफियाको प्रभावमा स्थानीयपनि परेकाले अब जनदवाब सिर्जना गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७