राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला, बाबरी मस्जिद सार्न निर्देशन


२३ कार्तिक २०७६, शनिबार
babri

भारत, २३ कार्तिक (एजेन्सी) । अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको ठहर गरेको हो । यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ ।

अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ । प्रधान न्यायाधीश रञ्जन गोगोइले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई भनेका छन् ।

४० दिनको लगातार सुनुवाईपछि भारतको सर्वोच्चले यस्तो आदेश सुनाएको हो । आदेश सुनाउने समयमा यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै भारतले वीरगञ्जस्थित नेपाल भारत सीमा नाका शिल गरेको थियो ।

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो।

सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो। उक्त फैसलाअनुसार विवादित २।७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने हुन्थ्यो।

त्यतिखेर अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो।

अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ। राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ।

उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्।
तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँछन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७