‘कालापानी हाम्रो हो, कुटनीतिक तवरबाट नभए अन्तराष्ट्रिय मञ्चमा जानुपर्छ’


२३ कार्तिक २०७६, शनिबार
oli

काठमाडौं,२३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले एक स्वरमा  कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् ।

भारतीय नक्सामा नेपाली भूमि प्रयोग  गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सर्वपक्षिय छलफलपछि सहभागि नेताहरुले एक स्वरमा ‘कालापनी नेपालको हो’ भन्नेमा कुनै विवाद नभएको तर्क गरेकाे हाे ।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी थिए ।

सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ। देशभर २३ ठाउँमा सीमा विवाद छ। 

सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्ष दलका विद्यार्थी संगठनहरू नै गो ब्याक इण्डिया भन्दै सडकमा निस्किसकेका छन्। शुक्रबार मात्र लैनचौरको भारतीय दूतावासअगाडि ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन भएको थियो। 

कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेविसंघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन्।

भारतीय राजदूतसँग स्पष्टिकरण साेध्नुहाेस्

बैठकमा सहभागी भई शनिबार साँझ बाहिरिएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो गर्‍यो भनेर नेपालले सोध्नुपर्छ, वव्यक्त मात्र दिएर हुँदैन’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने ‘भारतले नेपालको भूमिसहित नक्सा जारी गरेकोले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न बैठकमा सुझाव आएको छ । राजदूतलाई स्पष्टिकरण सोध्न सबै दल र नेताहरू पनि एकमत हुनुहुन्छ।’

नेपालको भूमि एक इन्च पनि अतिक्रमण हुन दिन नहुने उनले बताए। ‘कालापानीमा भारतले पहिले सेना राख्यो अहिले त्यो भूमि नक्सामा राखेको रहेछ यो गलत हो,’ उनले भने। उनले कूटनीतिक तवरबाट नेपाल र भारतबीच सीमा विवाद हल गर्न सुझाव दिएको बताए।

उनले भारत सीमा विवादमा गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताएका छन्।

मोदीसँग सिधा  कुरा गर्न सुझाव

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए । ‘परराष्ट्रसचिवको बैठकको अर्थ छैन’, बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ। सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ।’

बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए। उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए।

‘व्यवस्था फरक हुँदा मान्छेका धारणा पनि फरक हुन्थे। अहिले सबैभन्दा दल एकै ठाउँमा हुनुपर्छ’, उनले भने, ‘राष्ट्रियताका सवालमा सबैको एक मत हुुुनुपर्छ। हाम्रा पक्षबाट प्रमाण बलियो बनाउनुपर्छ। सुरुका नक्सा, २०१५ सालको चुनाव। २०१८ सालको जनगणना। ईपीजीबाटै निकास दिनुपर्छ।’ 

भारतीय सेना फिर्ता हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताए ।  बैठकमा नेपालको भूमि कालापानी रहेका भारतीय सेना फिर्ता हुनुपर्ने सुझाव आएको भन्दै उनले भने, ‘सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन र कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्छ। भारतीय पक्षलाई आफ्ना कुरा भन्नुपर्छ।’

यस्तै पूर्व परराष्ट्रमन्त्री र सीमा विदले पनि कुटनीतिक बाटोबाट अगाडि बढ्न सरकारलाई सुझाव दिएकाे जानकारी दिए ।

उनले सर्वपक्षीय बैठक सुरु हुनअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेताहरुसँग छुट्टै छलफल समेत गरेका थिए । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७