उम्मेद्वारको आज अन्तिम नामावली प्रकाशन गरिंदै

कास्कीमा तीन जनाको उम्मेदवारी बदर


२४ कार्तिक २०७६, आईतवार
Election ayoge 1

काठमाडौं, २४ कार्तिक । मंसिर १४ गते हुने प्रतिनिधि सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि आइतबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिंदैछ ।

गएको बिहीबार उम्मेद्वारको मनोनयन दर्ता भएको थियो । उम्मेद्वारीमाथि दाबी विरोध र उम्मेद्वारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुन लागेको हो ।
प्रदेशसभाको तीन ठाउँमा को–को छन् उम्मेदवार ?
प्रदेशसभा अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसका कृष्णलाल भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजूले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा(माले) का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, काङ्ग्रेस (बिपी) का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, काङ्ग्रेसका जितबहादुर शेरचन, राप्रपा (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट मित्रबहादुर मगरले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यो चुनाव क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्माले उम्मेद्वारी दिएका छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डाँगी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मङ्गोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, काङ्ग्रेस (बिपी)का दीपकुमार धितालले उम्मेदवारी दिएका छन् । त्यस्तै, टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

पालिकाका चार जना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते उपचुनाव हुनेछ । पालिकाका सदस्य पदको उम्मेद्वारको मनोनयनपत्र दर्ता भने आउँदो बुधबार हुनेछ । निर्वाचन आयोगले उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकेको छ ।

४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । आयोगले गएको ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । उपचुनावको लागि आउँदो मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।
कास्की–२ मा तीन जनाको उम्मेद्वारी बदर
कास्की क्षेत्र नम्बर–२ मा तीन जनाको उम्मेद्वारी बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले (अहिले राष्ट्रिय नागरिक पार्टी) को तर्फबाट उम्मेद्वारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्तविक्रम शाह गरी तीन जनाको उम्मेद्वारी बदर भएको आयोगले जनाएको छ । अब त्यहाँ २२ जना उम्मेद्वार छन् ।

कास्की–२ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेद्वारी दिएकी छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, काङ्ग्रेस (बीपी) का चन्द्रबहादुर रानाभाट, साझा पार्टीकी रजनी केसी, नेकपा (माले) का टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की गंगा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ ।

आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७