इङ्ल्याण्डले जित्यो टी–२० श्रृंखला, सुपरओभरमा विजयी


२४ कार्तिक २०७६, आईतवार
अचषअपभत

अकल्याण्ड, २४ कात्तिक । चार महिनाअघि एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी २० को सुपरओभरमै न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजिल्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।

श्रृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो ।

न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए । जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

दुबै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो । सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए । तर न्यूजील्याण्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो । यो जितसँगै इङ्ल्याण्डले ३–२ ले श्रृंखलामा विजयी भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७