अब १०–१० किलोमिटरमा सीमा सुरक्षा पोष्ट राखिने

सरकारलाई कालापानी क्षेत्रमा सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गर्न निर्देशन


२५ कार्तिक २०७६, सोमबार
APF

काठमाडौं, २५ कार्तिक ।  गृहमन्त्री रामबहादुर थापा बादलले  सरकारले सीमा सुरक्षालाई अझै चुस्त बनाउने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा बोल्दै गृहमन्त्री बादलले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा केन्द्रीत गर्ने र अव १०–१० किलोमिटरमा सुरक्षा पोष्ट राख्ने बताएका हुन् ।

बैठकमा कालापानी लगायतका अन्य सीमा क्षेत्रमा नेपालको तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सुरक्षा व्यवस्था गर्नसमेत सरकारलाई सुझाव दिएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिए ।

संसदीय समितिले भारतको राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमित भएको भन्दै राष्ट्रियताको पक्षमा दृढताका साथ उभिन अपील गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकले नेपालको कालापानी, लिपुलेक, लिपुभञ्ज्याङ र त्यसभन्दा पूर्वको भागसमेत भारतीय नक्सामा समेटिएको विषयलाई तत्काल उच्चस्तरीय राजनीतिक एवम् कुटनीतिक पहल गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी नेपाली भूमि अतिक्रमण गरी नक्सा तयार पारेकाले त्यसविरुद्ध एकजुट भएर अगाडि बढ्न सरकार, राजनीतिक दल, सामाजिक संस्था, जनसमुदाय तथा संचारका माध्यमहरुलाई समेत आह्वान गरेको छ ।

यसबाहेकका सीमा विवादहरुको स्थायी समाधानका लागि तत्काल पहल लिन सरकारलाई सुझाव दिने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले यस विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्न समेत समितिले सुझाव दिएको छ । समितिले शैक्षिक सामग्रीमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम बनाउनेदेखि नेपालको नक्सामा लिम्पियाधुरा सम्मको भूभाग समावेश गरी नक्सा तयार पार्न सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तराष्ट्रियकरण गर्ने बेला नभएको बताए । प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने धारणा राखे ।
सुगौली सन्धिमा लिम्पियाधुरा महाकालीको मुहान हो भनेर स्पष्ट भनिएको उल्लेख गर्दै सो विषय दोर्होयाइ रहनु नपर्ने उनले बताए ।

त्यस्तै बैठकमा समिति सदस्यहरुले यस बिषयमा सरकारले तत्काल नयाँ ढंगबाट भारतसंग छलफल गर्नुपर्ने धारणा राखेका थिए । भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालभर विरोध प्रदर्शन भइरहेको छ ।

भारतले उसको नक्सामा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको हो । सो विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि प्रधानमन्त्री भने उपस्थित भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७