रौतहट बम काण्ड : आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको खुलासा

आलमको अन्तिम ‘चाल’ कसैलाई खेतबारीको प्रलोभन, कसैलाई धम्की


२६ कार्तिक २०७६, मंगलवार
alam

रौतहट, २६ कार्तिक । बम विष्फोटका घाइतेहरुलाई ज्यूँदै जलाएको आरोपमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलामले घटनालाई कमजोर बनाउन चलखेल गरिरहेको चर्चा चलिरहेका बेला आलमको अर्को चलाखीको खुलासा भएको छ ।

रौतहटको फरहदवामा १२ वर्ष अगाडि भएको बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफूलाई मोहम्मद अफताव आलमका व्यक्तिले अपहरण गरी डर, धम्की र दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् ।

आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएर बयान फेर्न लगाएको गौरीशंकरले खुलासा गरेका छन् । आलमका मान्छेहरु आफैले तयार गरेको कागज आफूले दवावमा परेर अदालतमा बुझाएको उनले खुलाएका छन् ।

गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ । तर वास्तवमा उनी घटनाका प्रत्यक्षदर्शी हुन् ।

२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरु उपचारको सट्टा वेहोस बनाउने सुई लगाएर इँटाभट्टामा ज्यूँदै जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा आलम पक्राउ परेका छन् । उनीविरुद्धको मुद्दा हाल जिल्ला अदालत रौतहटमा चलिरहेको छ ।

भारत सीतामढीका गौरीशंकर चमारलाई सोही घटनाको साक्षी भनेर प्रहरीले प्रस्तुत गरेको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम विष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि घटनामा नयाँ मोड आएको थियो ।

तर, अहिले गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला आलमका मानिसहरु आएर जीप राखी आलमका सम्धीको घरमा बन्धक बनाएर कागज बनाएको स्पष्ट पारेका छन् । काम छ भनी अपहरण गरी आलमका सम्धीको घरमा बन्धक बनाई राखेको र डर धम्की दिंदै एक कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

उनीहरुले अदालतमा गएर बम बिष्फोटमा नभई स्टोभ पड्केर घाइते भएको वयान दिनू भनेर सिकाएको र सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालत नजिक ल्याएर छाडिएको गौरीशंकरको भनाइ छ ।

यस्तै केहि दिनअघि मात्र बम विष्फोटमा मारिएका भनिएका ओसी अख्तरकी श्रीमती अमना आतुनले पनि जिल्ला अदालतमा एक निवेदन दिंदै बयान फेरेकी थिइन् । उनले आफ्ना श्रीमान अख्तर रोजगारीका लागि विदेश गएको र फर्केर नआएको बयान दिएकी थिइन् ।

स्रोतका अनुसार मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनलाई आलम पक्षले १० कठ्ठा खेत दिने बचन दिएका छन् । अहिले उनीहरु बसिरहेको स्थानमा १० कठ्ठा खेतको मूल्य करिब २० देखि २५ लाख पर्छ । त्यसकारण पनि मृतककी श्रीमती अमना खेतको मूल्यमा मुद्दामा सौदाबाजी गर्न खोजेको स्रोतको दाबी छ ।

अहिले आफ्नो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको जिकिर गर्दै निवेदन बोकेर जिल्ला अदालत रौतहट पुगेकी अमना खातुन आफैले निवेदन दिएर श्रीमान्को मृत्यु भएको मृत्युदर्ता गराएकी थिइन् ।

२०७४ पुष १६ गते जारी भएको मृत्यु दर्ता प्रमाणपत्रमा ओसी अख्तरको मृत्यु २०६४ साल चैत २७ गते राजपुर फरहदवामा भएको उल्लेख गरिएको छ । र, उक्त मृत्यु दर्ता प्रमाणपत्र पाउनका लागि अमना आफैले हस्ताक्षर गरेर हालको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा निवेदन दर्ता गराएकी थिइन् ।

पक्राउ परेका आलमले आफ्नो आपराधिक कर्मबाट बच्नका लागि आफ्ना मान्छेहरुमार्फत अन्तिम अस्त्रका रुपमा विभिन्न कामहरु गराइरहेको स्थानीय बताउँछन् । उनले कसैलाई प्रलोभनमा पार्ने त कसैलाई डर, त्रासको वातावरण सिर्जना गरी आफूविरुद्ध लागेको आरोप र प्रमाणहरुलाई कमजोर बनाउने चालबाजीहरु गरिरहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७