सिके राउतको पार्टी पनि उपनिर्वाचनमा


२७ कार्तिक २०७६, बुधबार
ck raut

काठमाडौं, २७ कार्तिक । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ ।

गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

उनले भने, ‘अहिले हाम्रो संगठन तराई मधेसमा मात्र राम्रो भएकाले उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी दिन लागेका छौं ।’ जनमत पार्टीले प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनमा भाग लिने छैन । सिंहले पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनावमा सहभागी हुन लागेको बताए ।

यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव राउत नेतृत्वको तत्कालीन संगठनले ‘कोठली बाहर मतदान’ को अभियान नै चलाएको थियो । पृथक्तावादी अभियान त्यागेर आएका राउत पछिल्लो समयमा संगठन विस्तारमा लागेका छन् ।

उनले पछिल्लो समय प्रदेश २ को सरकार र राजपा–समाजवादी पार्टीको चर्को आलोचना गर्दै आएका छन् । भर्खरै काठमाडौंमा पार्टी कार्यालय खोलेका उनले आउँदो मंसिर ७ गते रंगभेदविरुद्ध दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आमसभा गर्न लागेको छ ।

आमसभामा नेपालमा रहेका जातजातिको जातीय, सांस्कृतिक नाच र गीतसमेत प्रस्तुत गरिने छ । राउत अन्य पार्टीका नेताहरूलाई पनि आमसभामा सहभागी हुन आमन्त्रण गर्ने तयारीमा छन् । पार्टी नेता सिंहका अनुसार आमसभामा विभिन्न जिल्लाबाट समर्थक ल्याउन लागिएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७