दरबारमार्गमा सामूहिक बलात्कारका मुख्य दोषीलाई पाँच वर्ष जेल


२७ कार्तिक २०७६, बुधबार
Rape for nayapage

काठमाडौं, २७ कार्तिक । दरबारमार्गमा दुई वर्षअघि एकल महिलामाथि सामूहिक बलात्कार भएको ठहर अदालतले गरेको छ ।

उक्त घटनाका मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ । मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

कार्की रामेछाप दुरा गाउँका हुन् भने गौतम काभ्रे चौरी देउराली र श्रेष्ठ सिन्धुपाल्चोक जेठलका । उनीहरू काठमाडौंमा बस्दै आएका थिए । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दोषीलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति हुने फैसला सुनाएको हो । अभियुक्तलाई कैद सजाय हुने गरी जिल्ला अदालतबाट गत बिहीबार फैसला आएको जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।

पुरानो मुलुकी ऐनको जबरजस्ती करणी महलअन्तर्गत अदालतबाट सजाय निर्धारण गरिएको छ । ‘प्रतिवादीहरूको पृष्ठभूमि, कसुरको प्रकृति, गम्भीरता र पीडितलाई पर्न गएको शारीरिक र मानसिक पीडालाई विचार गरी’, फैसलामा लेखिएको छ, ‘प्रतिवादी शैलेश कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (४) नं. बमोजिम पाँच वर्ष दुई महिना कैद हुने ठहर्छ ।’ मतियार ठहर भएका श्रेष्ठ र गौतमको हकमा सोही महलको ४ नम्बर बमोजिम एक वर्ष दुई महिना कैद हुने फैसलामा उल्लेख छ ।

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार उक्त घटनाको छानबिन अझै सकिएको छैन । कतिपय अभियुक्त अझै फरार छन् । ‘उक्त प्रकरणमा केही प्रतिवादीका हकमा थप अनुसन्धानको काम बाँकी छ’, उनले भने भने ।

रातको समयमा घरमा पुर्‍याइदिन गाडीमा ‘लिफ्ट’ दिने आश्वासन देखाएर चिनजानका व्यक्तिबाटै होटलको कोठामा लगेर बलात्कार गरिएको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी परेको थियो । पीडित महिलाले २०७४ माघ ७ गते मःम र वाइन खुवाएर उनीहरूले ल्यान्डमार्क होटलको ४०५ नम्बर कोठामा पुर्‍याएर सामूहिक बलात्कार गरेको दाबी गरेकी थिइन् । बलात्कारअघि नग्न भिडियोसमेत खिचिएको भनाइ पीडितको थियो ।

उक्त घटनामा प्रहरी प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी र संगठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरीले पीडित एकल महिलाको परिवर्तित नाम ‘दरबारमार्ग ७’ राखेको छ । पीडितको बयानअनुसार चार युवा मिलेर जबरजस्ती करणी गरेको उल्लेख छ ।

होटलबाट बाहिरिएपछि पीडितले ट्याक्सी चालकलाई आफू सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीसम्म लगिदिन अनुरोध गरेकी थिइन् । उनलाई ट्याक्सीमा लगेर दरबारमार्ग्स्थित प्रहरी वृत्तको जिम्मा लगाइएको थियो ।

घटना गुपचुप राखिएको प्रश्न उठेपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभागबाट भिन्नाभिन्नै छानबिन समेत भएको थियो । प्रारम्भिक छानबिनपछि दरबारमार्ग वृत्तमा कार्यरत तत्कालीन प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई परिसरमा, प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई हेडक्वार्टरमा तानिएको थियो । मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक चन्द्र भण्डारी निलम्बनमा परेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान टोली बनाएर छानबिन सुरु गरेको थियो । आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन तथा तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्यायबाट वञ्चित भएको बताएको थियो ।

मानवअधिकार उल्लंघन घटनामा अनुसन्धान प्रभावकारी नहुने कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्या अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिला न्यायबाट वञ्चित हुन पुगेको भन्दै आयोगले सुरक्षा निकायको ध्यानाकर्षण गरेको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७