बूढानीलकण्ठ वेद विद्याश्रमका लागि १३ लाख संकलन


२७ कार्तिक २०७६, बुधबार
money

काठमाडौं, २७ कार्तिक । बूढानीलकण्ठमा सञ्चालित वेद विद्याश्रमको सहयोगका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु १३ लाख सङ्कलन भएको छ ।

हरिबोधिनी एकादशीको अवसर पारेर कात्तिक २० गतेदेखि २६ गतेसम्म आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकम प्राचीनकालदेखि चलिआएको गुरुकूल चलाउन खर्च गरिने आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरीले बताइन् ।

कार्यक्रम समापन समारोहमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि वैदिक सनातन धर्मको संरक्षण गरिने विषय संविधानमै उल्लेख गरी धर्म परिवर्तनलाई निषेध गरिएको बताएका छन् ।

महायज्ञका मूलकर्ता एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले वैदिक सनातन धर्मको रक्षाका लागि गुरुकुल प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञका पण्डित कपिलदेव सुवेदी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेतीलगायतले गुरुकुलीय शिक्षा पद्दति लोप हुनबाट बचाउन समुदायको भूमिका महत्वपूर्ण हुने विचार राखे ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको थियो । कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चलेको मेलामा लाखौं भक्तजनको सहभागिता थियो ।

बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गरेका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ । यसैकारण विश्वभर छरिएर रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनासँगै बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्ने इच्छा राख्छन् ।

सरकारले दुई महिनापछि नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । त्यस अवसरमा बूढानीलकण्ठ नारायणस्थानको पनि विशेष प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी रामचन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७