अब सार्वजनिक गाडीमा यात्रु उभ्याउन नपाइने, अटेरी गरे कार्वाही


२७ कार्तिक २०७६, बुधबार
Kathamandu unsafe travel 20180519023056

बेझाङ, २७ कार्तिक । केहि महिनाअघि ‘पिक एण्ड ड्रप’ कार्यक्रम ल्याइएको काठमाडौं उपत्यकामा अब सावजनिक सवारी साधनमा यात्रु उभ्याउन बन्देज लगाइने भएको छ ।

सार्वजनिक सवारीको यात्रा असहज र अव्यवस्थित भएका कारण सरकारले साना तथा ठूला अनि छोटो तथा लामो दूरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज लगाउने तयारी थालेको हो ।

यात्रुलाई असहज र असुरक्षित यात्रा गराउन नपाइने कुरा यातायात व्यवस्था ऐनमा रहेको भए पनि नियमको पालना नभइरहेका बेला अब भने यो नियम कडाइका साथ लागू गने तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

‘माइक्रो, तिनपांग्रे र लामो दूरीको सबै सवारी साधनमा यात्रुलाई उभ्याउनै पाइँदैन । यो विषयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसँग छलफल गरेर सूचना जारी गर्छौ । त्यसको १०–१५ दिन जनचेतनामूलक कार्यक्रम गरेर मात्र अटेरी गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौं’, हमालले भने ।

शहरमा गुड्ने ठूला सार्वजनिक यातायातमा भने त्यो नियम लागू नहुने उनले जानकारी दिएका छन् ।
‘अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने बृद्ध र शारीरिक असक्त बाहेक सिटी बसमा उभिएरै यात्रा गर्ने चलन छ । हामी कति सिट भएको बसमा कति जनासम्म उभिन मिल्छ भनेर अध्यन गरेर सिटी बसमा पनि यात्रु संख्या निर्धारण गर्छौ,’ हमालले भने ।

सरकारले यस्ता काम गर्दा सरोकारवाला निकायसगँ छलफल गरेर, त्यसमा आउन सक्ने समस्याको समाधान खोजेपछि मात्र निणर्य गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताएका छन् ।

जाम नहुँदा ६–७ टिप गर्न सक्ने गाडीले जाम हुँदा ३–४ टिप मात्र गर्न सक्छ । गाडीको खर्च उठाउन पनि व्यवसायीले यात्रु कोच्न बाध्य भएको बताउँदै सिटौलाले भने, ‘यदि भौतिक संरचना राम्रो हुने हो भने यो नियमले हामीलाई केही फरक पार्दैन तर, समस्याको समाधान नगरी नियम लागू गर्ने हो भने समस्या झन बढ्न सक्छ ।’

जाम हटाउने सन्दर्भमा सम्बन्धित निकायसगँ छलफल भइरहेको र केही स्थानका काम समेत सुरु भइसकेको हमालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७