धरान उपमहानरपालिकाको प्रमुख पदका लागि १७ काे मनोनयन, पञ्चेबाजासहित उम्मेदवारी दर्ता


२७ कार्तिक २०७६, बुधबार
dharan

काठमाडौं, २७ कार्तिक । आज देशका विभिन्न जिल्लामा मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहको उम्मेद्वारी दर्ता भएका छन् ।

आफ्नो उम्मेद्वारीको प्रचारका लागि समेत आकांक्षीहरुले विभिन्न शैली अपनाएका छन् ।
मंसिर १४ को उपनिर्वाचनका लागि धरानमा पञ्चेबाजासहित दलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को वडाध्यक्षका लागि उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित उम्मेद्वारी दर्ता गराएका हुन् ।

मेयरमा मनोनयन दर्ताका लागि पुगेका प्रकाश राईको पक्षमा नेकपा कार्यकर्ताले पञ्चेबाजासहित ¥याली निकालेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले पनि झाँकीसहितको टोली लिएर उम्मेद्वारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयले कांग्रेसका लागि ११ बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो । नेकपाका लागि १२ बजेदेखि पछिको समय तोकेको थियो । प्रकाशको उम्मेद्वारी दर्ताका लागि नेकपा नेता भीम आचार्यसहितको टोली पुगेको थियो ।

अरु साना दल र स्वतन्त्र उम्मेद्वारका लागि भने समय तोकिएको थिएन । धरान उपमहानगरपालिका प्रमुखका लागि चार स्वतन्त्र र साना दलले उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराईली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा पदमा कांग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ भने नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ । यसअघि ०७४ को चुनावमा मेयर र वडाध्यक्ष दुबै पद तत्कालीन एमालेले जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७