मधेसी तथा थारु समुदायले काठमाडौंमा मनाए समाचकेवा पर्व {भिडियाे}


२७ कार्तिक २०७६, बुधबार
sama chakhewa
फाइल फोटो

काठमाडौं, २७ कार्तिक । काठमाडौमा बस्दै आएका मध्य तराईका मधेसी तथा थारु समुदायका सर्वसाधारणहरुले बुधबार काठमाडौंमा समाचकेवा पर्व मनाएका छन् ।

सांस्कृतिक भेषभूषामा सजिएका उनीहरुले बुधबार काठमाडौंको माइतिघर भेला भएर समाचकेवा पर्व मनाएका हुन् । थारु महिला समाज नेपाल, थारु सास्कृतिक संगीत बिकास मञ्च लगाएतका संस्थाको अगुवाइमा सांस्कृतिक र्याली समेत निकालिएको थियो ।

भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व बर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक किम्बदन्तीसहित विश्वास गरिएको छ ।

 पन्द्र दिनसम्म समाचकेवासँग रमाएका किशोरीहरु गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगि सेलाएर आफना दाजुभाइहरुलाई मिठाई पकवान आदी खुवाएर यो पर्व विधिवत रुपमा सम्पन्न गर्छन् ।

द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए । यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किम्बदन्ती छ ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन थालिएको जनविश्वास छ ।

  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७