ठेकेदारप्रति जनआक्रोश, शारदाप्रसाद अधिकारीको तस्विर पोल र गाडीमा टाँसेर विरोध


२८ कार्तिक २०७६, बिहीबार
uncomplete road 14112019025150

भक्तपुर, २८ कार्तिक । सडक विस्तार अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन् ।

ठेक्का लिएर तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि उनीहरूले दबाब दिन शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँसेका हुन् ।

नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

स्थानीयले राजकुमार लामिछानेको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेरसमेत आन्दोलन गरिरहेका छन् । शैलुङका अध्यक्ष अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् ।

आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए । तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए ।

ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए । पछिल्लो पटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेका छन् ।

‘एक्जिम बैंक इण्डिया’ को ऋण सहयोगमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा करिब १६ किलोमिटर लामो कमलविनायक भत्केको पाटी–नगरकोट सडक विस्तार गर्ने सम्झौता गरिएको थियो । साविक साढे ३ मिटरको सडकलाई बढाएर ७र७ मिटर तथा मुख्य घुम्तीमा ११ मिटरसम्म फराकिलो बनाउने, कालोपत्र गर्ने र नाली–ढलको व्यवस्थापन गर्ने गरी ठेक्का लगाइएको हो ।

sarada

रिटेनिङ वाल तथा नाली निर्माण र कमलविनायक–बाँसबारीसम्म कालोपत्र गरिएको छ । लापरबाहीका कारण अधिकांश स्थानमा नाली भत्किएको छ । कालोपत्र उप्किएर ठाउँ–ठाउँमा खाडल परेको छ ।

विस्तारका नाममा मुख्य सडक अलपत्र छाडिँदा नगरकोट–नाल्दुम आउने पर्यटकले दुस्ख पाएको र व्यवसाय धराशायी बनेको पर्यटन व्यवसायीको गुनासो छ । ‘सडक घाम लागे धुलाम्य, पानी परे हिलाम्य हुन्छ । सडक हेरेर पर्यटकले गाली गर्छन्,’ नगरकोट–नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘तत्काल सडक विस्तार नसकिए भ्रमण वर्ष २०२० लाई असर पर्छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७