बुलबुलेमा पर्यटक बढे


२८ कार्तिक २०७६, बिहीबार
bul bule

सुर्खेत, २८ कार्तिक । सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको संख्या बढेको छ ।

गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

दशैं र तिहार जस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनाका साथै पिकनिकका लागि पनि पर्यटक आउने गर्दछन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्र भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनर्निर्माण गरिनाका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ ।

दशैँ-तिहारपछि बुलबुले ताल घुम्न आउनेको संख्यामा ह्वात्तै बढेको उक्त समितिका कर्मचारी निर्मला बास्तोलाले बताइन् । मुगुको रारा ताल घुम्न आउने पर्यटक बुलबुलेमा पनि घुमेरै जाने भएकाले यहाँ आउने पर्यटकको संख्या बढ्ने गरेको उनको भनाइ थियो । 

बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताए । त्यसैगरी बाँकेबाट घुम्न आउनुभएका सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिए ।

पर्यटकको संख्या वृद्धि भएसँगै त्यहाँको आम्दानी समेत बढन थालेको छ । गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा रु पाँच लाख आम्दानी भएको उक्त समितिका लेखापाल खड्ग रानाले जानकारी दिए ।

सवारी साधन पार्किङ स्थल, पिकनिक स्पट, ‘फिलिम सुटिङ’, खानेपानीको व्यवस्था, डुङ्गामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुन थालेको र सो आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उनले बतए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७