पर्यटकीय नगरी पोखरामा राष्ट्रपति हमिदको भव्य स्वागत


२८ कार्तिक २०७६, बिहीबार
BDP Pokhara welcomebyministerlamsal scaled

पोखरा, २८ कार्तिक । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ ।

नेपाली सेनाको विशेष हेलिकप्टरबाट यहाँ आएका उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गरे ।

राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उनी सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो । हेलिकप्टरबाट झर्ना साथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले गरेको स्वागतमा राष्ट्रपति हमिद प्रफुल्लित देखिन्थे । विमानस्थलमा उनको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो ।

JBS Kaski 1230

विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहेका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुगेको थियो । उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उनको भव्य स्वागत गरेका थिए ।

यस्ता अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।
‘राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ’, उनले भने, ‘अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवर्धनमा निकै टेवा पुग्नेछ ।’

BDP Pokhara welcomebyprovincechifserchan

पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृष्यले जोकोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उनले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताए ।
फेवाताल किनारमा पुगेका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गरेक थिए । जलविहारका क्रममा उनले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेक थिए ।

जलविहारपश्चात् राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृष्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरे । रुपाकोटको दृष्यावलोकनपश्चात् उनी सिधै काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७