धराने प्रकाश अर्थात् पूर्वको एउटा उज्यालो


२८ कार्तिक २०७६, बिहीबार
Prakash Rai Dharan Meyar candidate scaled

धरान, पूर्व, पश्चिम र उत्तरमा पहाड । दक्षिणतिर तराईसँग जोडिएको चारकोशे झाडी । दुवैतर्फ खोला । पश्चिममा सर्दु र पूर्वमा सेउती । पूर्वी पहाड र तराईको संगमस्थल (भाबर प्रदेश) तथा समशितोष्ण हावापानी । पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेंडेटारलाई सिरानी हालेर सर्दु र सेउती खेलाकोबीचमा लमतन्न पल्टेको छ, धरान । धरानको भौगोलिक परिचय यहि हो ।

भौगोलिक रुपमा धरानको परिचय जति सुन्दर छ, सामाजिक र सांस्कृतिक रुपमा पनि उस्तै सुन्दर र विशिष्ट छ । त्यो धेरै परिचयमध्ये एउटा परिचय हो, ‘लाहुरेको शहर ।’ यहि शहरमा छाती नपाएर कति लाहुरे गए, कति हराए, कति फर्किए, गनीसाध्य छैन । बेहिसाब छ ।

पहिलो र दोस्रो विश्वयुद्धमा हजारौं युवाहरु युद्ध लड्न गए । धेरै बिरानो देशमा मारिए, बेपत्ता भए । बाँचेर फर्केका अधिकांश पूर्वेलीहरुले यहि शहरलाई बुढ्यौली बिताउने शहरको रुपमा रोजे । दोस्रो विश्वयुद्धपछि आफ्नो पूर्खाका पदचाप पछ्याउदै यहाँका अधिकांश युवाहरुले उही लाहुर अर्थात् लाहुरे जीन्दगी रोजे । अधिकांश युवाको सपना बन्यो, लाहुर ।

तीमध्ये अपवाद थिए, लाहुरेकै छोरा प्रकाश राई । उनले आफ्नो बुबाले हिंडेको बाटो रोजेनन् । छाती नाप्ने १९/२० वर्षको उमेरमा उनले अलग बाटो रोजे । अप्ठ्यारो बाटो अर्थात् आन्दोलनको बाटो । प्रकाश भन्छन्, ‘अरुले छाती नपाइरहेका बेला मैले देशको निम्ति आफ्नै माटोमा रगत र पसिना बगाउने कसम खाएँ ।’ कसम अर्थात् उनी अखिल नेपाल कम्युनिष्ट क्रान्तीकारी कोेअर्डिनेशन केन्द्र (को.के) मा सामेल भएर उनी कम्युनिष्ट आन्दोलनमा सामेल भए । उतिबेलाका शासकको नजरमा उनी अराष्ट्रिय भए ।

हालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, चर्चित कम्युनिष्ट नेता सीपी मैनाली, रामचन्द्र यादव, अमृत बोहराहरुले २०३२ सालमा निर्माण गरेको कोेअर्डिनेशन केन्द्रको सम्पर्कमा २०३६ सालमा नै गए ।

टेकबहादुर मगराती, राजेश राई, पारस सुब्बाहरुको सम्पर्कपछि उनी कोेअर्डिनेशन केन्द्रमा आबद्ध भए । उनी भन्छन्, ‘व्यवस्था परिवर्तन र समाज रुपान्तरणको सुन्दर सपनासहित म कोेअर्डिनेशन केन्द्रमा आबद्ध भएँ । त्यो मेरो असाध्यै सुखद र सुन्दर निर्णय थियो ।’

Prakash Rai Isara

जागरणदेखि जनआन्दोलनसम्म
प्रकाश तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गर्ने समय अर्थात् २०१७ सालमा जन्मिए । राजा महेन्द्रको पञ्चायती व्यवस्थाबिरुद्धको आन्दोलन छिपिंदै–हुर्किदै गर्दा नौ जवान भए । भन्छन्, ‘आन्दोलनसँगै हुर्किएँ ।’

उनले धरानको घोपा स्कुमा ‘कखरा’ सिकेर महेन्द्र क्याम्पसबाट उच्च शिक्षा लिए । प्रकाश जतिबेला यो समाजको बारेमा जान्ने भए त्यही बेलादेखि नै पश्चायती व्यवस्थाबिरुद्ध उभिएर अनेक अभियान र आन्दोलनमा सामेल भए । उनी भन्छन्, ‘पञ्चायती व्यबस्थाबिरुद्धको जागरणकालदेखि नै धरानमा काम गरें । जीन्दगीको युवाकालीन समय पश्चायती शासनबिरुद्धको जागरणमा बित्यो ।’

२०४६ सालको जनआन्दोलनमा उनी धरानमा नै सामेल भए । २०४६ सालको जुझारु धराने युवामध्येका एक थिए, प्रकाश । भन्छन्, ‘जागरणदेखि जनआन्दोलनसम्म आइपुग्दाका समय मेरा लागि सधैं प्रिय छ ।’

पहाड जस्तो प्रतिबद्धता
२०३६ सालमा कोकेबाट कम्युनिष्ट आन्दोलनमा लागेका प्रकाश भूमिगत कालमा धरानको एरिया कमिटी, नगर कमिटी हुँदै जिल्ला कमिटीमा रहेर निरन्तर काम गरे । कम्युनिष्ट आन्दोलनबाट उनी कहिल्यै विचलित भएनन् । भन्छन्, ‘कोकेमा संगठित भएपछि निरन्तर निष्ठाका साथ लागिरहे ।’ प्रकाश २०४६ सालपछि नेकपा (एमाले) ले लडेका अनेकौ चुनावी अभियानका सक्रिय मात्रै भएनन् उनी चुनाव कमाण्डर बने ।

गत स्थानीय तहको निर्वाचनमा पनि उनी एमालेको चुनावी कमाण्डर अर्थात् निर्वाचन परिचालन कमिटीका संयोजक थिए । गत प्रदेश र केन्द्रको निर्वाचनमा पनि एमालेको तर्फबाट चुनावी कमाण्डर थिए उनी । उनले २०४६ सालयता सुनसरी जिल्ला पार्टीको आर्थिक विभाग प्रमुख, विद्यार्थी इञ्चार्ज, भूतपूर्व प्रहरी तथा सैनिक इञ्चार्जलगायतका जिम्मेवारीमा रहेर काम गरे । कम्युनिष्ट आन्दोलनको अनेकन आरोहमा पनि विचलित नभई उनले काम गरे । युवा नेता भिम राई ज्वाला भन्छन्, ‘प्रकाश राई पहाड जस्तै अविचलित प्रतिबद्धता भएको एउटा नेता हुनुहुन्छ । उहाँ जस्तो प्रतिबद्ध नेता कमै देखेको छु ।’

जसले केही मागेनन्, यसपालि संयोग

Prakash Rai Dharan
प्रकाश, जसले आफ्ना जीन्दगीका सबै उर्बर समय पार्टी र आन्दोलनमा लगाए । तर, उनी राजकीय अर्थात् निर्वाचित भएर जाने पदमा कहिल्यै गएनन् । अथवा अवसर पाएनन् । तर, निरन्तर चुनावी कमाण्डर भने भइरहे । आफूभन्दा जुनियर नेताहरुले अवसर पाउँदा पनि उनको लागि हरियो बाटो खुलेन । तर फेरि उनले गुनासो पनि कहिल्यै गरेरनन् । धरानबाट प्रकाशित औजार दैनिकका सम्पादकको रुपमा समेत काम गरेका नेता ज्वाला भन्छन्, ‘उहाँले सधैं निष्ठा र इमानको साथ आन्दोलन र अभियानको नेतृत्व गर्नुभयो । तर, पदको दाबी समेत कहिल्यै गर्नुभएन । यसपालि पनि उपनिर्वाचनमा संयोग जस्तो भयो ।’ ज्वाला प्रकाश राईलाई इमान र प्रतिबद्धताको पहाड मान्छन् । भन्छन्, ‘पार्टी र आन्दोलनप्रतिको प्रतिबद्धता होस् त उहाँको जस्तो ।’

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको असमायिक निधन भयो । प्रकाशका लागि यो असाध्यै नमिठो क्षण थियो । किनभने तारा सुब्बाका चुनावी कमाण्डर उनै थिए । तारा सुब्बासँग अनेकन सपना र सम्बन्धहरु जोडिएका थिए प्रकाशको । भन्छन्, ‘तारा सुब्बा धरानको एउटा स्वप्नद्रष्टा हुनुहुन्थ्यो । उहाँसँग धरान बिकासका लागि अनेकौं योजना र सपनाहरु थिए । दुर्भाग्य भौतिक रुपमा उहाँसँगै रहेर पूरा गर्ने समय रहेन ।’

मेयरको मृत्युपछि उपनिर्वाचन हुने भएपछि उनलाई सत्तारुढ नेकपाले मेयरको उम्मेवार बनाएको छ । कम्युनिष्ट आन्दोलनमा लागेको करिब चार दशकपछि उनी पहिलो पटक चुनावी परिचालक होइन उम्मेवार बनेका छन् । धरानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जयकुमार राई एउटा इतिहास, आन्दोलन र इमानमाथि यसपालि न्याय मिलेको बताउँछन् । भन्छन्, ‘उहाँलाई उम्मेदवार बनाउनु भनेको इतिहासको सम्मान र निष्ठावान माथिको न्याय हो ।’

सपना अनेकन
करिब तीन साताअघि उनी काठमाडौंमा थिए । धरानको मेयरको टिकटको बहस चलिरहेको थियो । काठमाडौंको विश्वभाषा क्याम्पस अघि भेटिएका प्रकाश राईलाई मैले सोधेका थिए ? ‘ यसपालि त मेयर पक्का होला नि ?’ ‘धरानमा नेकपाकै उम्मेदवारले मेयर जित्ने चाँहि पक्का हो । अरु त पार्टीले जे गर्छन् त्यही हुन्छ,’ उनले मुस्कुराएर भने, ‘सधैं कमाण्डर भएर जिताउने अभियानमा खटेको छु, खै यसपालि के हुन्छ ?’

‘यसपालि मै हुँ, मेरै पालो हो’ भन्ने दाबी कति पनि थिएन । बरु, आफ्ना प्रिय कमरेड मेयर तारा सुब्बाले शुरु गरेका र गर्नुपर्ने कामका सूचीप्रति उनको चिन्ता थियो । उनले सुनाए, ‘समय बितिरहेको छ, बीचमा यस्तो निर्वाचनको समस्या आइलाग्दा धरान पछि पर्छ कि भन्ने चिन्ता सबैको छ ।’

त्यसो त उनी निर्वाचित नभए पनि पार्टीका नेता र धरानका अगुवाका रुपमा धरानको बिकासको योजना निर्माणमा उनी सधैं थिए । एक हिसाबले पर्दा बाहिरको आर्किटेक्चर । पार्टीले मेयरको उम्मेदवार बनाएपछि उनले धरानसँग जोडिएका अनेकन सपना बनाएका छन् । भन्छन्, ‘जीवनका सबै उर्बर समय धरानमा बिताएँ । यहाँका हरेक गल्ली टेकेको छु । यहाँका अनेक समस्या बारेमा जानकार छु ।’

पूर्वी पहाडको मुख्यद्धार धरान बिस्तारै बुढो हुँदै गए जस्तो छ । खासगरी लाहुरेहरु सबै बेलायततिर सरेर गएपछि कुनै बेला पूर्वको मुख्य शहर धरान ढुङग्रीमुन्द्री झिकेको लिम्बुनी बजै जस्तो देखिएको छ । गुल्जार धरानको रौनकमा कमी आएको छ ।

फेरि धरानलाई उस्तै गुल्जार बनाउन धरानलाई पूर्वको शिक्षा, पर्यटन, स्वास्थ्याको केन्द्र बनाउन सकिने उनको योजना छ । भन्छन्, ‘धरानलाई पूर्वको शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा बिकास गर्नेछौं ।’ धरानका खानेपानी समस्या समाधान, सडक, अन्य बिकासका उनीसँग लामो सूची छ ।

उनले निर्वाचन यदि जितेमा उनीसँग काम गर्ने आधा समय मात्रै बाँकी रहने छ । ‘यति छोटो समयमा प्रतिबद्धता पूरा होला त ?’ ‘इमान र निष्ठाका साथ काम गर्दा छोटो समयमै धेरै गर्न सकिन्छ,’ उनले सुनाए, ‘बाँकी रहेका समयभित्र धरानलाई पुरै परिर्वतन सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७