नेकपा सचिवालय वैठक बस्दै, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइँदै


२९ कार्तिक २०७६, शुक्रबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, २९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शुक्रबार) सचिवालय वैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आजको सचिवालय वैठकमा मन्त्रिपरिषद फेरबदलको विषयमा नभई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइने निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले सम्भवतः प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्रीमा ओली नै निरन्तर रहने निर्णय गर्ने स्रोतको दावी छ ।

मन्त्रीपरिषद हेरफेर अघि दुई जना अध्यक्षको कार्यविभाजन गर्न शुक्रबार बिहान सचिवालय बैठक डाकिएको नेकपाका एक उच्च नेताले बताएका छन् । सचिवालयको बैठक बोलाउनुअघि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

आजको सचिवालय बैठकबाट कार्य विभाजनको निर्णय यदि भएन भने यस्तो निर्णय गर्नका लागि स्थायी समिति बैठक बोलाउने सहमती पनि हुन सक्ने छ । यसअघिको तयारी अनुसार शुक्रबार वा यो साताभित्र मन्त्रीपरिषद हेरफेर भइसक्नु पर्ने भए पनि पहिले अध्यक्षको कार्यविभाजन गर्ने गरी त्यसलाई केही दिन पर सारिएको हो ।

करिब दुई वर्षअघि एमाले र माओवादी केन्द्रबीच एकता हुने बेलामा नै ओली र प्रचण्डबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्नेलगायत चार बुँदे सहमति भएको थियो । त्यो सहमति लागू गर्ने हो भने अबका केही महिनापछि ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई सुम्पिनु पर्ने हुन्छ ।

तर, अध्यक्ष प्रचण्डले यदि पार्टी र सरकारको जिम्मेवारी छुट्याएर कार्यविभाजन गर्ने हो भने ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्न सक्ने बताउँदै आएका छन् । यस्तो निर्णय लिनुअघि बुधबार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई बालुवाटार निम्त्याएर चार घण्टा छलफल गरेका थिए । एक व्यक्ति एक पदको सिद्धान्त अनुसार पार्टी चल्नु पर्ने भन्दै नेपालले पार्टीमा फरक मत नै राख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७