पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलले गर्‍यो नेपालगञ्ज बन्द


२९ कार्तिक २०७६, शुक्रबार
npg 1

नेपालगञ्ज, २९ कार्तिक । पेस्तोलसहित पक्राउ परेको भनिएका आफ कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज (शुक्रबार) नेपालगञ्ज बन्द गरेको छ ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्जबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सन्दीपजंग शाह तरुण दल नेपालगञ्जका सभापति हुन् ।
पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले नेपालगञ्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारिएको छ ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएका छन् । ‘तरुण दलले बन्द गरेको रहेछ, किन हो थाहा भएन,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘हामी बन्दले सर्वसाधरणलाई असर नगरोस् भनी सहज गर्न्तिर लागेका छौं ।’

प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो । उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरीले हतियारसहित पक्राउ परेकालाई कानुनी कारबाही भएरै छाड्ने भन्दै उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ । यता तरुण दल र नेपाली कांग्रेसले भने नियोजित रुपमा उनलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

तरुण दलले पेस्तोल कसको हो भन्ने निक्र्यौल गर्न फिङ्गर प्रिन्ट गर्नुपर्ने बताएको थियो । शाहलगायतका युवालाई पक्राउ गरेपछि सार्वजनिक भएको एक अडियो टेपले प्रहरीलाई समेत विवादमा तानेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७