प्रधानमन्त्री सचिवालयका भट्टराई र रिमालको राजीनामा अस्वीकृत

दुई सल्लाहकारसहित ६ सचिवालय सदस्यको भने राजीनामा स्वीकृत


२९ कार्तिक २०७६, शुक्रबार
bishnurimalfinal

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका दुई सल्लाहकारसहित ६ सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको राजीनामा भने अस्वीकृत गरेका छन् । अन्य राजीनामा स्वीकृत भएकाहरु भने अब पदमुक्त भएका छन् ।

राजीनामा स्वीकृत हुनेमा प्रेस सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् । अर्यालसहित ६ जनाको राजीनामा मंसिर १ गतेबाट लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

राजीनामा स्वकिृत भए लगत्तै अर्याल शुक्रबारै सिन्धुलीतर्फ हिंडेका छन् । प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सबै ११ सदस्यलाई सामुहिक राजीना दिन भनेका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको हो । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् । त्यसैले उनीहरुले सचिवालयमा निरन्तरता पाएका छन् ।

आफ्नो स्पिरिट अनुसार काम गर्न नसकेकाले सचिवालयका केही सदस्य र सल्लाहकारको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
आफ्नो सचिवालयसहित मन्त्रिहरुको समेत कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रधानमन्त्री ओलीले आफ्ना सहयोगीहरु परिवर्तन गर्ने नीति लिएका छन् ।

तर सरकारका मन्त्री तथा सत्तारुढ दलका कतिपय नेताहरुले प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीलाई निश्चित घेरामा राख्दा समस्या भएको गुनासो गर्दै आएका छन् ।

तर यो गुनासो विपरित प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्य समेत रहेका रिमाललाई निरन्तरता दिएपछि धेरैले समस्याको जड कायमै राखेर हाँगाविगा काट्दैमा प्रधानमन्त्रीको चाहना र गति बढ्नेमा शंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७