राजनीतिक आडमा ‘अपराध कर्म’, ‘गुण्डागर्दी र तस्करी’ कै लागि हतियार


२९ कार्तिक २०७६, शुक्रबार
gun

बाँके, २९ कार्तिक । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’ का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’ का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र नामसारी गरेका छन् ।

कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ । सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’ देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन् ।

यहाँको तथ्याङ्क हेर्दा करीब एक हजारभन्दा बढी थान हतियार इजाजत लिएर व्यक्तिगतरूपमा राखिएका छन् । यद्यपि अहिले प्रहरीलाई ती वैधानिक इजाजत पत्रधारी हतियार नै सुरक्षाको चुनौती बन्दै गएका छन् ।

बाँके प्रहरीलाई यस्ता हतियारका वाहक को हुन् ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? भन्नेबारे सामान्य जानकारी र चासोसमेत भएको देखिंदैन, त्यसका कारण राजनीतिक दलको संरक्षण र हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने तथा जबरजस्ती ठेक्का आफ्नो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ ।

काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति पक्राउपछि राजनीतिक आडमा ‘अपराध कर्म’ हुने गरेको तथ्य भेटिएको प्रहरीको दाबी छ । बाँकेमा राजनीतिक दलसम्बद्ध युवादेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्ति संलग्न रहेका प्रहरीले जनाएको छ ।

हतियारको आडमा रु पाँच करोडभन्दा बढीका ठेक्का ‘डिल’ भएकै विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले गनापुरबाट शाहसहितका छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

शाह पक्राउ परेपछि भएको प्रहरी अनुसन्धानका क्रममा राजनीतिक आडमा ‘अपराध कर्म’ हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । बाँकेमा साना तथा ठूला हतियारका आडमा दादागिरी चलेको गुनासो आएपछि प्रहरीले कडा ‘अप्रेशन’ नै चलाएको थियो ।

सोही क्रममा शाहसहितका व्यक्ति गनापुरको नमस्ते रिसोर्टबाट हतियारसहित पक्राउ परेका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हतियारको आडमा जिल्लाका विभिन्न क्षेत्रमा गुण्डागर्दी चलेका थुप्रै उजुरी र गुनासा प्रहरी समक्ष आएका छन् ।

यसैअन्तर्गत सभापति शाहको टोलीले पनि हतियार देखाएर ठेक्कापट्टा हात पार्ने दाउ गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । नगर सभापति भनिने ठेकेदार सन्दीपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साबिक नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालतले तीन–तीन वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका व्यक्तिसँग सन्दीपजङ्गको उठबस देखिएको छ । उनका अनुसार चेतन हत्याकाण्डमा पनि सन्दीपको समेत नाम जोडिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘तरुण दलका कोषाध्यक्ष केशर खड्काको विगत बुझ्दै जाँदा थुप्रै आपराधिक घटनामा संलग्न भएका तथ्य भेटिएका छन्, अहिले हामीले उनीमाथि पनि निगरानी बढाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७