हङकङमा विरोध प्रदर्शनको क्रममा ७० वर्षीय वृद्धको मृत्यु


२९ कार्तिक २०७६, शुक्रबार
hongkong

काठमाडौं, २९ कार्तिक । हङकङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ । उनी खाजा खाने समय बाहिर निस्केको बेला ‘मास्क लगाएका प्रर्दशनकारी’हरुले प्रहार गरेको साह्रो बस्तुले लागेर मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएको छ ।

प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको एक हप्ताभन्दा कम समयपछि विरोध प्रदर्शनमा मृत्यु भएको यो दोस्रो घटना हो ।

पछिल्लो पाँच महिनादेखि हङकङमा झनै राजनीतिक अशान्ति फैलिएको छ । सरकारले आफूहरू उक्त घटनाका कारण ‘दुखी भएको’ बताएको छ ।

‘मास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार तीन दिन निकै हिंसात्मक कार्यहरू गरे र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरे ।’, सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाको भनिएको भिडियोमा प्रदर्शनकर्ता र सरकार समर्थकहरूले एकअर्का माथि इट्टा प्रहार गरिरहेको देखिन्छ । त्यही क्रममा एकजना मानिसको टाउकोमा इट्टा लागेपछि ती मानिस लडेको देख्न सकिन्छ ।

अधिकारीहरूका अनुसार ती वृद्धको मृत्यु भोलिपल्ट अस्पतालमा भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । गत शुक्रवार प्रदर्शनस्थल खाली गराउन गरिएको प्रहरी कारबाहीका क्रममा एक जना २२ वर्षीय विद्यार्थीको पार्किङ स्थलबाट खसेर मृत्यु भएको थियो ।
विवरणहरूका अनुसार उनी अश्रुग्यास प्रहारबाट बच्ने प्रयास गरिरहेका थिए । उक्त घटनापछि प्रदर्शन झन् चर्कँदै गएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७