आफ्नै जीवनमा ‘सिन्दूर’को अर्थ खोज्दै मिलन


२९ कार्तिक २०७६, शुक्रबार
milan newar2

काठमाडौं, २९ कार्तिक । गीत संगीतको क्षेत्रमा नयाँ प्रयोगका साथ म्यूजिक भिडियो ‘सिन्दूर’  शुक्रबार सार्वजनिक भएको छ । हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको यस गीतले कला र संगीतलाई जोड्न सफल भएको छ ।

कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ । कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त रुपमा पस्किएको कलाले धेरैलाई तानिरहेको बेला संगीतको धूनबाट पनि कलाको समिश्रणलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीतको म्यूजिक भिडियोलाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको हो । पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘सिन्दूर’मा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत रहेका ज्योति प्रकाश आफैंमा सिद्धहस्त गायक एवं संगीतकार हुन् । २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शोमार्फत आफूलाई गायनमा उतारिसकेका गायक हुन् ।
पछिल्लो समय ‘जून र ज्योति’ नामक गीति एल्बम बजारमा ल्याएर स्थापित संगीतकारका रुपमा परिचय बनाइसकेका उनले उक्त एल्बमका गीतहरुमा स्वरसमेत प्रदान गरेका छन् । आफूलाई महङ्गो चित्रकारका रुपमा परिचित गराइसकेका गायक तथा संगीतकार ज्योति प्रकाशको संगीत पक्ष आफैंमा अब्बल देखिएको छ ।

मधु शाही कान्तिपुर प्रकाशनमा लामो समयदेखि कला बिटमा कलम चलाउँदै आएकी पत्रकार हुन् । यतिबेला कान्तिपुर प्रकाशनको नेपालगन्ज प्रमुखको जिम्मेवारी सम्हालिरहेकी पत्रकार मधु शाहीका शब्दमा पनि बजारमा धेरै गीत सुन्न पाइन्छ ।

ललितकला र संगीतकलासँग नजिक रहेर कर्म गरिरहेकी मधु शाहीको गहकिला शब्द यस ‘सिन्दूर’ गीतभित्र रहेका छ । उनको शब्द सिर्जना हेर्दा लाग्छ उनी गीति लेखनको एक अब्बल गीतकार हुन् ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए ।

रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरुकै प्रस्तुतिलाई समावेश गरिएको छ । वाद्यवादनको समूहसँगै कलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन् । पत्रकार तथा गीतकार समुन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७