भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर काठमाडौंमा


३० कार्तिक २०७६, शनिबार
sachin

काठमाडौं, ३० कार्तिक । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार अबेर राति नेपाल आइपुगेका हुन् ।

तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै फर्कंदै छन् ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने, ‘नेपाल आउँदा निकै खुशी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् ।

उनीअघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । देव सन् १९९८ मा कीर्तिपुर मैदानमा भारतीय टेलिभिजन जी टिभीले आयोजना गरेको एक प्रतियोगिता खेल्न नेपाल आएका थिए । गवास्कर एक फरक कार्यक्रमका लागि नेपाल आएका थिए ।

त्यसपछि सन् २०१४ मा भारतीय राष्ट्रिय टोलीको कप्तान रहेकै वेला महेन्द्र सिंह धोनीले पनि नेपालको भ्रमण गरेका थिए । दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका छन् । तर, तेन्दुलकरलाई भने नेपाली समर्थकले काठमाडौंमा पहिलो पटक स्वागत गर्ने अवसर पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटका एक इतिहास तेन्दुलकरको भ्रमणबाट नेपाली क्रिकेटरले थप प्रेरणा लिने विश्वास गरिएको छ । नेपाली टोलीका पूर्वकप्तान विनोद दासले तेन्दुलकरको नेपाल भ्रमणको खबरले आफू निकै उत्साहित बनेको बताएका छन् ।

‘बाल्यकालदेखि नै म उनलाई नजिकबाट हेर्न चाहन्थें । यदि सबै चिज योजनाअनुसार नै भए क्रिकेटको पर्यायवाची व्यक्तित्वसँग म एउटै मैदानमा खेलिरहेको हुनेछु,’ पूर्व कप्तान दासले सचिनको तस्बिरसहित ट्वीटरमा लेखेका छन्, ‘कम्तीमा म क्रिकेटप्रति पागल देशका समर्थकसँगै त्रिवि मैदानमा उनको स्वागत गरिरहेको हुनेछु ।’

शनिबार कीर्तिपुर मैदानमा तेन्दुलकरले उनै दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् । तेन्दुलकर बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् ।

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा उनलाई नेपाल ल्याउन युनिसेफ सफल भएको हो । तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै प्रदर्शनी खेल खेल्नेछन् । युनिसेफले तेन्दुलकरसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०–१० ओभरको हुनेछ ।

१६ नोभेम्बर २०१३ मा सबै खाले क्रिकेटबाट सन्यास लिएका तेन्दुलकरले ६ वर्षपछि त्रिवि मैदानमा ब्याट समात्दाको उद्देश्य फरक हुनेछ । प्रदर्शनी खेल र उनले आफ्नो नेपाल बसाइका क्रममा गर्ने सबै गतिविधि बालबालिकासम्बन्धी अधिकारको प्रवर्धनका लागि हुनेछ । युनिसेफका सद्भाव दूत समेत रहेका तेन्दुलकरले त्रिवि मैदानमा बालअधिकारको पक्षमा ब्याटिङ गर्नेछन् ।

झण्डै दुई घण्टा चल्ने खेलपछि तेन्दुलकरले त्रिवि मैदानमै नेपाली पत्रकारका प्रश्नको जवाफ दिनेछन् । मैदानमा नेपाली पत्रकारले तेन्दुलकरलाई सीधै प्रश्न गर्न भने पाउने छैनन् । उनलाई सोधिने प्रश्न युनिसेफले शुक्रबार नै संकलन गरिसकेको छ । त्रिवि मैदानमा युनिसेफले नै सम्बन्धित पत्रकारको तर्फबाट सचिनलाई प्रश्न सोध्नेछ । त्यसमा उनले जवाफ दिनेछन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७